Thursday, April 16News That Matters

खोटाङमा २५ जनाभन्दा बढी भेला हुन निषेध, सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य

खोटाङ, पुस ३० । जिल्ला प्रशासन कार्यालय खोटाङले कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने सबै खालका गतिविधिमा रोक लागएको छ । प्रुमख जिल्ला अधकिारी फणिन्द्र दाहालले जारी गरेको आदेशमा
२५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरू एवं सामाजिकलगायतका कार्यहरु गर्न नपाइने उल्लेख छ ।

बिहिबार राति १२ बजेदेखि लागु हुने गरी प्रजिअ दाहालले कोरोना रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन ७ बुँदे आदेश जारी गर्नुभएको छ । कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी प्रजिअ दाहालले अर्को सूचना जारी नभएसम्मका लागि आदेश जारी गर्नुभएको हो ।

आदेशमा राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधिहरू सञ्चालन गर्दा एवं घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, समय–समयमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य सम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्ने भनिएको छ ।

सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक एवं यस्ता प्रकृतिका कार्यक्रम नगर्ने, नगराउने र अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र स्वास्थ्य मापदण्डको पालना गरेर गर्ने व्यवस्था मिलाउन सकिने प्रशासनको आदेशमा उल्लेख छ ।

यस्तै सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न तथा सार्वजनिक स्थानहरू (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइयात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गते देखि कोभिड –१९ विरुद्धको खोप लागाइएको कार्ड अनिवार्य हुनुपर्ने छ । खोप लगाएको कार्डको मोबाइलमा खिचिएको फोटो देखाएर पनि प्रवेश पाइने आदेशमा उल्लेख छ । तोकिएका सबै निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था गर्न प्रशासनले आदेश गरेको छ ।

स्थानीय तहले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा मिति २०७४ पुस २६ मा जारी प्रेस विज्ञप्ति अनुसार कार्य गर्ने गराउने व्यवस्था मिलाउने, सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको बढी चाप हुने कार्यालयहरूले भीडभाड नहुने गरी उपयुक्त तरिका अपनाई सम्बन्धित कार्यालय प्रमुखले आवश्यक व्यवस्था मिलाउनुपर्नेछ ।

यसैगरी सार्वजनिक सवारी साधनहरूमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने र सबै यात्रुले अनिवार्य रुपमा मस्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउने साथै अनिवार्य रूपमा सवारी साधन दैनिक स्यानिटाइज गरिएको हुनुपर्ने प्रशासनको आदेशमा भनिएको छ ।

यस्तो छ प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालद्वारा जारी आदेश :