
खोटाङ, पुस ३० । खोटाङमा कुल जनसंख्याको ५४ प्रतिशत बढी नागरिकले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । वि.सं. २०६८ को जनगणा अनुसार जिल्लाको जनसंख्या २ लाख ६ हजार ३ सय १२ छ । कोरोना महामारीको दोस्रो लहरयता जिल्लाका १ लाख १२ हजार ८ जनाले पहिलो डोज खोप लगाएका स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । यस आधारमा जिल्लाका ५४ दशमलव २९ प्रतिशत नागरिकले खोपको पहिलो डोज लगाएका हुन् ।
यस्तै कुल जनसंख्याको ३२ दशमलव २८ प्रतिशत अर्थात् ६६ हजार ६ सय १२ जनाले पूर्ण मात्रा खोप लगाएका कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । जिल्लामा विभिन्न समयमा सञ्चालित भेरोसेल, एस्ट्राजेनिका, कोभिशिल्ड र मोडर्ना खोप अभियानबाट उक्त संख्यामा खोप लगाइएको हो ।
सक्रिय संक्रमित चार पुगे
झण्डै एक महिनासम्म कोरोना संक्रमणमुक्त बनेको खोटाङमा फेरि कोरोना संक्रमित देखिएका छन् । जिल्लामा अहिले कोरोनाका ४ जना सक्रिय बिरामी रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।
