Thursday, April 16News That Matters

खोटाङ र ओखलढुंगा जोड्ने दुधकोशी नदिमा झोलुङ्गे पुलको शिलान्यास

खोटाङ, माघ २ । खोटाङ र ओखलढुंगा जोड्ने दुधकोशी नदिमा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ९ सल्ले र ओखलढुंगाको सिद्धिचरण नगरपालिका १ तलुवालाई जोड्ने झोलुङ्गे पुलको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले संयुक्त रुपमा शनिबार शिलान्यास गर्नु भएको हो ।

सल्लेको साविक वडा नम्बर ३ टिम्मुरे र तलुवाको पिप्लेलाई जोड्ने झोलुङ्गे पुलको लम्बाई १ सय ९ मिटर रहने मेयर राईले जानकारी दिनुभयो । पुल हलेसी तुवाचुङ नगरपालिकाको १ करोड ४० लाख बजेटबाट निर्माण हुन लागेको सल्लेका वडा सचिव चित्र बहादुर रानाले बताउनु भयो ।

हाल उक्त क्षेत्रका नागरिकलाई वारीपारी गर्न महादेवबेँसी पुग्नु पर्ने बाध्यता रहेको छ । झोलुङ्गे पुल निर्माण पश्चात ओखलढुंगाको नाल्सु र खोटाङको टिम्मुरेका नागरिकलाई सहज हुने सल्लेका वडा सदस्य गणेस पौडेलले बताउनु भयो ।

ठेक्का प्रक्रियाबाट बन्न लागेको झोलुङ्गे पुल आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न हुनुपर्र्ने सम्झौतामा उल्लेख छ ।