Thursday, April 16News That Matters

विप्लव नेतृत्वको नेकपाद्वारा खोटाङमा कृषि उत्पादन सुरु

आलु रोप्नको लागि विप्लव नेता कार्यकर्ताले तयार गरेको आलुको बिउ

खोटाङ, माघ २ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खोटाङले जिल्लामा कृषि उत्पादन सुरु गरेको छ । पार्टीको नीति अनुसार उत्पादनलाई जोड दिने अभियान अन्तरगत आज (आइतबार) पार्टीका नेता कार्यकर्ताले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ मा आलु खेती सुरु गरेका हुन् ।

पार्टीलाई आत्मनिर्भर बनाउन, जनतालाई कृषिमा श्रम गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न र कृषिको सम्भावनाबारे नेपाल सरकारको ध्यान खिच्नको लागि आलु खेती सुरु गरिएको पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संघ खोटाङ, भोजपुर र सोलुखुम्बु तीन जिल्लाका इञ्चार्ज निराजन किराँतीले जानकारी दिनुभयो ।

दोर्पास्थित एकराज बुढाथोकीको दुई रोपनी जग्गामा आलु खेती सुरु गरेको पार्टीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा पनि केही दिनपछि आलु लागाउने उहाँले बताउनुभयो ।

यस्तै आगामी दिनमा रावाबेसी गाउँपालिकामा धान खेती र ऐँसेलुखर्कमा माछा पालन गर्ने योजना रहेको उहाँको भनाइ छ ।