Thursday, April 16News That Matters

कुकुरले टोकेर घाइते बनाएका विद्यार्थीलाई सल्ले वडा कार्यलयको आर्थिक सहयोग


खोटाङ, माघ २ । कुकुरले टोकेर घाइते बनाएका विद्यार्थीलाई उपचारको लागि हलेसी तवाचुङ नगपालिका–९ सल्ले वडा कार्यालयले आर्थिक सहयोग गरेको छ । केही समय अगाडि विद्यालयबाट घर फर्कँदै गर्दा कुकुरले टोकेर घाइते भएका ५ जना विद्यार्थीलाई उपचारको लागि वडाको विपद् व्यवस्थापन कोषबाट ५/५ हजार नगद सहयोग गरिएको हो ।

गत कात्तिक ८ गते हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत सल्लेखर्कका अनुराग राई, सञ्जय राई, लुसन श्रेष्ठ, विकास राई र धिरज राईलाई कुकुरले टोकेर घाइते बनाएको थियो । घाइते २ जना विद्यार्थीको जिल्ला अस्पताल दिक्तेल र ३ जना विद्यार्थीको काठमाडौँमा उपचार गराएको परिवारले जनाएको छ ।

उपचार खर्चस्वरूप विद्यार्थीका अभिभावकलाई आज (आइतबार) सल्लेका वडाध्यक्ष काशीराज राईले वडा कार्यालयमा आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको वडा सचिव चित्रबहादुर रानाले जानकारी दिनुभयो ।