Thursday, April 16News That Matters

खार्मीको वडा कार्यालय भवन उद्घाटन

वडा कार्यालय भवन उद्घाटन गर्दै मेयर दीपनारायण रिजाल र उपमेयर वीणादेवी राई ।

खोटाङ, माघ २ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको वडा कार्यालय भवन उद्घाटन गरिएको छ । स्थानीय दाजुभाइ प्रताप र सुदीप श्रेष्ठले निःशुल्क प्रदान गर्नुभएको ५ रोपनी जग्गामा निर्मित आरसीसी वडा कार्यालय भवनको नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले आइतबार संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

केन्द्र सरकारको ६० र नगरपालिकाको ४० प्रतिशत गरी ४८ लाख ३९ हजार ३ सय (भ्याटबाहेक) लागतमा भवन निर्माण भएको हो । भवन निर्माणको जिम्मा मोहन एण्ड ब्यासीगाउँ निर्माण सेवा दिक्तेलले पाएको थियो । एक तल्ले वडा कार्यालय भवनमा एउटा सभाहल र तीन वटा कोठा रहेका छन् । वडा कार्यालय भवनका लागि जग्गा दान गर्ने श्रेष्ठद्वयलाई आज सम्मानसमेत गरिएको छ ।

वडा कार्यालय भवन उद्घाटनसँगै नागरिकलाई सेवा प्रवाहमा सहज भएको वडाध्यक्ष रामचन्द्र राईले बताउनुभयो । यसअघि वडा कार्यालय भवन नहुँदा हाल निर्माण भएको वडा कार्यालय भवनका लागि निःशल्क जग्गा दान गर्ने श्रेष्ठद्वयको घरमा मासिक ६ हजार भाडा तिरेर सेवा प्रवाह हुँदै आएको थियो ।

खार्मीको नवनिर्मित वडा कार्यालय भवन ।