Thursday, April 16News That Matters

प्रसव व्यथाले गम्भीर दिक्तेलकी एक गर्भवतीको निःशुल्क हवाइ उद्धार

फाइल तस्वीर ।

खोटाङ, माघ ४ । खोटाङमा प्रसव व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवतीको निःशुल्क हवाइ उद्धार गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २५ वर्षीया रोजिना खड्काको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरेर सुविधा सम्पन्न अस्पताल पठाइएको हो ।

सामान्यताया गर्भ रहेको ३७ हप्तासम्ममा सुत्केरी व्यथा लाग्नु सामान्य मानिए पनि खड्कालाई गर्भ रहेको ३४ हप्तामै सुत्केरी व्यथा लागेपछि सोमबार उपचारका जिल्ला अस्पताल दिक्तेल लगिएको थियो । स्वास्थ्य जाँचमा उनको पाठेघरको पानीको फोका समय अगावै फुटेको पाइएको जिल्ला अस्पतालका डा. मनिष पौडेलले बताउनुभयो । त्यस्तो अवस्थामा गर्भवती र गर्भमा रहेको शिशु दुवैको स्वास्थ्य जोखिमपूर्ण हुने र त्यसको जिल्ला अस्पतालमा उपचार सम्भव नहुने भएकाले अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई उद्धारको पहलका लागि पत्र पठाएको थियो ।

अस्पतालको पत्रका आधारमा जिल्ला प्रशासनले सोमबार साँझ नै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, समन्वय इकाइ, सिंहदरबारलाई उद्धारका लागि हेलिकोप्टरको व्यवस्था गर्न सिफारिस गरेको थियो । तर, रातको समयमा हवाइ उद्धार सम्भव नभएकाले इकाइले मंगलबार पठाएको हेलिकोप्टर प्रयोग गरी दिक्तेल हेलिप्याडबाट बिहान साढे ९ बजे उद्धार गरेर प्रसूति गृह थापाथली पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाइ सेवाबाट जिल्लामा दर्जनौँ गर्भवती तथा सुत्केरीको उद्धार भइसेकेको छ ।