Thursday, April 16News That Matters

विकास निर्माणमा भएको ढिलासुस्तीप्रति एमाले खोटाङको ध्यानाकर्षण

प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई ध्यानाकर्षण पत्र बुझाउँदै एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाललगायत ।

खोटाङ, माघ ४ । नेकपा एमाले खोटाङले विकास निर्माणमा भएको ढिलासुस्तीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जिल्लामा सञ्चालित सडक, पुल, भवन, खानेपानी आयोजना र कार्यालयहरूको सेवा प्रवाहमा देखिएको लापरबाही र ढिलासुस्ती अन्त्य गर्न माग गर्दै एमालेले आज प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

एमालेले खोटाङ र उदयपुरको सिमाना फोक्सिङ्टारमा निर्माणधीन मोटरेबल पुल, महुरे–फोक्सिङ्टार–गाईघाट सडक, दिक्तेल अस्पताल चौक–खानीडाँडा आहाले सडक, हुर्लुङ जाल्पा–ऐँसेलुखर्क– बाक्सिला सडक, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत पङ्घ–लप्से मोटरेबल पुल लगायतका पुलहरू, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगतको निर्माणाधीन सेखुवा सडक तत्काल निर्माण सम्पन्न गर्न माग गरेको छ ।

यस्तै विभिन्न पालिकाहरूमा बन्न सुरु भएका स्वास्थ्य संस्थाहरू, हलेसी वृहत खानेपानी लिफ्टिङ योजना, साप्सुखोला लिफ्टिङ खानेपानी आयोजना, दिक्तेल अस्पतालचौक–साप्सुखोला–खोटाङबजार–पाँचधारे सडक आयोजनालगायत विकासका पूर्वाधारहरुको निर्माण कार्यमा भएको बेवास्ता, ढिलासुस्ती, गैरजिम्मेवारीपन, अनियमितता र दिक्तेलस्थित मालपोत कार्यालयको सेवा प्रवाहमा आएको ढिलासुस्ती र अनियमितताका बारेमा निस्किएको जनगुनासो साथै अन्य विभिन्न सरकारी कार्यालयहरूले दिने सेवा प्रवाहमा देखिएको लापरबाही र ढिलासुस्तीप्रति एमालेले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

नेपाली जनताको सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमानको रक्षाका खातिर र खोटाङे जनताले सहजतापूर्ण पाउनुपर्ने सेवा प्रवाहमा आएको गतिरोधलाई अन्त्य एमालेले सम्बन्धित पक्षलाई सचेत गराएको छ । विकास निर्माण र सेवा प्रवाहसँग सम्बन्धित यस्ता गम्भीर विषयमा वर्तमान परमादेशी सरकारको मौनताले नेपाली जनताको मानसपटलमा अनेकौं प्रश्नहरू जन्माइरहेको पार्टीले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

जनसरोकारका विषयमा भएका ढिलासुस्ती, लापरबाही, बेवास्ता र अटेरी गर्ने निर्माण व्यवसायीहरूलाई नियमानुसार कानुनी दायरामा ल्याएर विकास निर्माण कार्यलाई तीव्रता दिन र अपूरा रहेका कामहरूको पूर्णताका निम्ति सार्थक पहल गर्न एमालेले जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारसँग जोडदार माग गरेको छ । पार्टीको मागलाई बेवास्ता गरे चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेसमेत एमालेले चेतावनी दिएको छ ।

ध्यानाकार्षण पत्र बुझाउँदै एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले जनताको पक्षमा काम गर्न प्रमुख जिल्ला अधिकारी दाहाललाई आग्रह गर्नुभयो । एमाले जनताको पार्टी भएकाले जिल्लाको विकास निर्माणमा भएको ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता लगायतका विरुद्ध सँधै लडिरहने उहाँको भनाइ छ ।

यता एमालेको ध्यानाकार्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले विकासे योजनामा भएको ढिलासुस्तीका बारेमा प्रशासन गम्भीर रहेको बताउनुभएको छ । प्रजिअ दाहालले प्रशासनको तर्फबाट त्यसका लागि आवश्यक पहल गरिने बताउनुभएको हो ।

ध्यानाकार्षण पत्र बुझाउन एमाले खोटाङका अध्यक्ष दङ्गालसहित सचिव कुमार आचार्य, सह–सचिव दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई प्रशासान पुग्नुभएको थियो ।

यस्तो छ एमालेले बुझाएको ध्यानाकर्षण पत्र –