Thursday, April 16News That Matters

छुट्टाछुट्टै जबरजस्ती करणी मुद्दामा खोटाङमा दुई जना पक्राउ

फाइल तस्वीर ।

खोटाङ, माघ ५ । छुट्टाछुट्टै जबरजस्ती करणीको मुद्दामा खोटाङमा दुई पुरुष पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाका ३२ वर्षीय प्रकाश हिङमाङ र सोही नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राई पक्राउ परेका जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

हिङमाङले पुस २५ गते बेलुका ५ बजे दोर्पा चिउरीडाँडाकै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । छिमेकीको घरमा पितृ कार्य (श्राद्ध) को निम्तो मानेर घर फर्कँदै गर्दा एक्लै भएको मौका छोपेर किशोरीलाई डर धम्की देखाई जबरजस्तीकरणी गरेको भन्दै प्रहरीमा आएको जाहेरीका आधारमा हिङमाङ बुधबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, खोटाङबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले गोप्य रूपमा खोजतलास गर्दै जाँदा लुकिछिपी बसेको अवस्थामा दोर्पा चिउरीडाँडाबाटै बुधबार उनलाई पक्राउ गरेको हो ।

यस्तै राईले पुस ३० गते बिहान ११ बजे पाथेकाकै एक ४० वर्षीया महिलालाई घरमा एक्लै भएको मौका छोपी जबरजस्ती करणी गरेको आरोप छ । जबरजस्ती करणी भएको भनी टेलिफोन मार्फत प्रहरी चौकी तालखर्कलाई प्राप्त जानकारीका आधारमा उनलाई तत्कालै प्रहरी चौकी तालखर्कबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा मंगलबार गएर पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैमाथि जिल्ला अदालतबाट जबरजस्ती करणी कसुरमा ७ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार जिल्लामा जबरजस्ती करणीका उजुरी बढ्दो छ । यसअघि १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा रावाबेँसी गाउँपालिका–२ खार्पास्थित भाषा आधारभूत विद्यालयका ३१ वर्षीय शिक्षक किशोर पोखरेल शुक्रबार पक्राउ परेका थिए ।

जिल्लामा एक हप्ताभित्रै जबरजस्ती करणी मुद्दामा तीन जना पक्राउ परेका छन् ।