खोटाङ, माघ ८ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई आधारभूमि बनाएर प्रकाशन हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले १३ जनालाई पुरस्कृत गरेको छ । पत्रिकाले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा जिल्लामा कार्यरत ९ जना पत्रकार, एक जना शिक्षक, एक जना समाजसेवी, पत्रिकाका सीईओ र पूर्व प्रबन्ध निर्देशकलाई जनही १५ हजार नगदसहित प्रमाणपत्रले विभिन्न शीर्षकमा पुरस्कृत गरेको हो ।
पत्रिकाले पत्रकार उजुर राईलाई प्रेमबहादुर राई–हीरामाया राई–तुवाचुङ साप्ताहिक पुरस्कार तर्फको पुरस्कार प्रदान गरेको छ । यस्तै स्व. मेघराज राई–तुवाचुङ साप्ताहिक पुरस्कार पत्रकार भीम राईलाई, स्व. हिमालशेर राई–तुवाचुङ साप्ताहिक पुरस्कार पत्रकार डम्बरसिं राईलाई, हलेसी तुवाचुङ नगरपालिका–तुवाचुङ साप्ताहिक पुरस्कार पत्रकार दिलीप खत्रीलाई प्रदान गरिएको छ ।
यस्तै स्व. इन्द्रशेर राई–गउनसरी राई–तुवाचुङ साप्ताहिक पुरस्कार पत्रकार हरिबोल आचार्यलाई, रुनिशा राई–तुवाचुङ साप्ताहिक पुरस्कार पत्रकार सुरेन्द्र चालिसेलाई, भर्तसेर राई–रणकुमारी राई–तुवाचुङ साप्ताहिक मातृभाषा पुरस्कार पत्रकार तिलक चाम्लिङलाई, स्व. राजकुमार राई–तुवाचुङ साप्ताहिक पुरस्कार पत्रकार टिवन राईलाई, देवान राई–सतिसरा राई–तुवाचुङ साप्ताहिक पुरस्कार पत्रकार शर्मीला विश्वकर्मालाई प्रदान गरिएको छ ।
यस्तै चन्द्रबहादुर गिरी– तुवाचुङ साप्ताहिक समाजसेवी पुरस्कार समाजसेवी राकेश परियारलाई र स्व. जसमाया राई–तुवाचुङ साप्ताहिक शैक्षिक पुरस्कार शिक्षक नवीन चाम्लिङलाई प्रदान गरिएको छ । तुवाचुङ मारातिका यातायात प्रालि–तुवाचुङ साप्ताहिक पुरस्कार तुवाचुङ साप्ताहिकका सीईओ पवन चाम्लिङ राईलाई र स्व. कृष्णध्वज राई–तुवाचुङ साप्ताहिक पुरस्कार तुवाचुङ साप्ताहिकका पूर्व प्रबन्ध निदेर्शक सुजन राईलाई प्रदान गरिएको तुवाचुङ साप्ताहिकका प्रकाशक एवं सम्पादक दीपेन्द्र राईले जानकारी दिनुभयो ।
जनपक्षीय र ग्रामीण पत्रकारिताको आकर्षण बढाउन तुवाचुङ साप्ताहिक चार वर्षदेखि प्रकाशित भइरहेको सम्पादक राईको भनाइ छ ।
हलेसी तुवाचुङ नगरपालिकालाई आधारभूमि बनाएर प्रकाशित तुवाचुङ साप्ताहिकले जनपक्षीय र ग्रामीण पत्रकारितालाई मूल मुद्दा बनाउँदै आएको पनि उहाँले बताउनु भयो । साप्ताहिकले ३ बर्ष अगाडि देखि अनलाइन संस्करण tuwachung.com समेत सञ्चालनमा ल्याएको छ । साप्ताहिकको साउन ४ गतेलाई वार्षिकोत्सव मनाउँदै आए पनि विश्वव्यापी कोरोना महामारीले गर्दा यो वर्ष माघ ८ अर्थात् आज वार्षिकोत्सव मनाएको छ ।
कोरोना भाइरस अझै पनि कायम नै रहेको कारण आज पनि स्वास्थ्य सतर्कता अपनाउँदै सीमित व्यक्तिको उपस्थितिमा हलेसीको एक होटलमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईको हातबाट पुरस्कार प्रदान गरिएको सम्पादक राईले बताउनुभयो । उहाँहरूले आफ्नो पेशालाई गरेको योगदानका आधारमा पुरस्कार प्रदान गरिएको उहाँको भनाइ छ ।
सोही कार्यक्रममा उद्यमी/व्यवसायी रामप्रसाद राईलाई अभिनन्दन गरिएको छ । यस्तै समाजसेवी जनकराज राई, बेलायती गोर्खा सैनिक भविन्द्र राई, उद्यमी/व्यवसायी कैलाश राई, राजनीतिकर्मी कमल गिरी र किस्मत राई, शिक्षिका तारा राई, कमल कार्की र हलेसी तुवाचुङ नगरपालिकालाई प्रमाणपत्रले सम्मान गरिएको राईले बताउनुभयो ।
