खोटाङ, माघ ९ । ओखलढुंगामा गुडिरहेको बोलेरो जीपमाथिे ढुंगा खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा को १ ज ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ का ७ वर्षीया युनिषा कोइराला, सोही ठाउँका १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जीपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ र लक्ष्मी कोइराला घाइते भएका छन् ।
घाइतेको अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकोप्टर मार्फत राजधानी पठाउने तयारी भइरहेको छ ।
सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकामतर्फ जाँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभीरमा डोजरले निकालेको ढुंगा पल्टिएर किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
