Saturday, April 25News That Matters

खोटाङमा अहिलेसम्म ४८ प्रतिशत घरमा मात्र केन्द्रीय विद्युत, सबैमा पुग्न ३ वर्ष लाग्ने

फाइल तस्विर

खोटाङ, माघ ९ । खोटाङमा हालसम्म ४८ दशमलव ७३ प्रतिशत घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लामा ४२ हजार ६ सय ६४ घरधुरी रहेका छन् । जसमध्ये माघ ८ गतेसम्मको तथ्याङ्क अनुसार २० हजार ७ सय ८९ घरधुरीमा केन्दी्रय प्रसारण लाइनको विद्युत पुगेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका गरी जिल्लामा दश स्थानीय तह रहेका छन् । दशै वटा स्थानीय तहका कार्यालयमा केन्दी्रय प्रसारण लाइनको विद्युत पुगिसकेको छ भने कतिपय वडा कार्यालयमा अहिलेसम्म विद्युत पुगेको छैन । जिल्लाको रावाबेसी गाउँपालिकामा सबैभन्दा धेरै घरधुरीमा विद्युत विस्तार भएको छ । गाउँपालिकाको वडा नम्बर ३ लामीडाँडाका केही घरधुरीमा मात्र विद्युत विस्तार हुन बाँकी रहेको कार्यालयका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर ९ निर्मलीडाँडाका केही घरधुरीमा र वडा नम्बर १० पाथेकामा विद्युत विस्तार हुन बाँकी रहेको र विस्तारको काम धमाधम भइरहेको उहाँको भनाइ छ ।

यस्तै हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र साकेला गाउँपालिकाका अधिकांश घरधुरीमा विद्युत पुगेको छ भने नपुगेका घरमा विस्तार गर्ने काम भइरहेको छ । जिल्लाको ऐँसेलुखर्क र खोटेहाङ गाउँपालिकाका करिब आधा घरधुरीमा मात्र विद्युत पुगेको छ । अन्य तीन स्थानीय तह केपिलासगढी, जन्तेढुंगा र वराहपोखरी गाउँपालिकाका केही भूभागमा मात्र विद्युत विस्तार भएको प्रमुख रेग्मीले बताउनुभयो ।

प्रमुख रेग्मीका अनुसार जिल्लाका सबै घरधुरीमा केन्दी्रय प्रसारण लाइनको विद्युत विस्तार गर्ने गरी नयाँ योजनाको काम सुरु हुने प्रक्रियामा रहेको छ भने केही ठाउँमा विद्युत विस्तार कार्य भइरहेको छ । जिल्लाका सबै घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुग्न भने अझै ३ वर्ष लाग्न सक्ने उहाँको अनुमान छ ।

हालसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत नपुगेका अधिकांश ठाउँमा स्थानीय हाइड्रोपावरमार्फत उत्पादित विद्युत नागरिकलले प्रयोग गर्दै आएका छन् । केही ठाउँमा अझै पनि नागरिक सौर्य उर्जा सोलारको प्रयोग गर्न बाध्य छन् ।

नागरिकको गुनासो

खपत भएको भन्दा धेरै बिल देखाएको र सम्बन्धित घरमा नपुगी एक ठाउँमा बसेर ४÷५ महिनाको मिटर रिडिङ एकैपटक गर्दा केन्दी्रय विद्युत प्रयोगकर्ता मारमा परेको भन्दै खोटाङका नागरिकले गुनासो गरेका छन् । यस विषयमा नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रेग्मीले कोरोनाका कारण नियमित मिटर रिडिङ गर्न समस्या भएको बताउनुभयो । सो समयमा देखिएको समस्या समाधान गरिएको पनि उहाँको भनाइ छ । मिटर रिडिङ गर्ने कर्मचारीले त्यस्तो कमजोरी गरेको भए उपभोक्ताले जिल्लामा सम्पर्क गर्न सक्ने समेत उहाँले बताउनुभयो ।

यस्तै जिल्लामा बेलाबेला विद्युत जानुको कारण लामो दूरी भएकाले बीचमा रुख ढलेर विद्युतको तार चुँडिने, रुखका हाँगाहरूले तारमा छुदाँ फ्यूज झर्ने लगायतका समस्याले गर्दा भएको उहाँको भनाइ छ ।

खोटाङको विद्युत पनि केन्द्रीय लाइनमा

खोटाङबाट १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन । जिल्लाको साप्सुखोला जलविद्युत आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाइड्रोपावर गरी तीन वटा योजनाबाट १०.६ मेगावाट विद्युत ३३ केभी केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।