Friday, April 17News That Matters

दुर्छिम मा.वि.को व्यवस्थापन समिति सदस्यमा दमाई र राई विजयी

खोटाङ, माघ १० । दुर्छिम माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन भएको छ । सर्वसम्मत हुन नसकेपछि आज निर्वाचन मार्फत नयाँ समिति गठन भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्थीत सो विद्यालयका नयाँ समितिका लागि १ सय ८३ जना अभिभावकले मदतान गरेका थिए । जसमा ११ मत बदर भएको विद्यालयले जनाएको छ ।

दुई जना सदस्यको लागि ३ जना चुनावी मैदानमा उत्रिएका थिए । जसमा रामबहादुर दमाई ९८ र दीपबहादुर राई ९६ मतका साथ विजयी हुँदा रोमबहादुर राई ८६ मत प्राप्त गरेर पराजित हुुनुभएको छ । एक जना महिला सदस्यमा भने चन्द्रकला राउत निर्विरोध निर्वाचित हुनुभएको छ ।

नगरपालिकाको शिक्षा ऐन अनुसार विद्यालयको व्यवस्थापन समितिमा ९ जना रहने व्यवस्था छ । जसमा ३ जना सदस्य अभिभावकले चुन्ने, चार जना सदस्य नगरपालिका प्रमुख र वडाध्यक्षले मनोनय गर्नेछन् भने एक जना शिक्षक प्रतिनिधि र समितिको सदस्य सचिवको रुपमा स्वयं विद्यालयका प्रधानाध्यापक रहने व्यवस्था छ । अभिभावकले चुनेका एक महिला सहित ३ सदस्य र मनोनयनमा परेका चार सदस्य मध्येबाट एक जना अध्यक्षमा चुनिने नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिनुभयो ।

दुर्छिम माध्यमिक विद्यालयसँगै ८९ वटा सामुदायिक विद्यालय रहेको हलेसी तुवाचुङ नगरपालिकामा पदावधि सकिएको ८० वटा विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन भइसकेको छ । जगदम्वा, रातमाटे र सहकला आधारभुत विद्यालयका समितिको पदावधि सहिएको छैन । यस्तै सरस्वती र कालिका आधारभूत विद्यालयमा दरबन्दी नभएको कार्कीको भनाइ छ ।

बाँकी रहेका ५ वटा विद्यालयमा व्यवस्थापन समिति गठन प्रक्रिया जारी रहेको र केही समय भित्रमा नयाँ समिति गठन गरिने नगर शिक्षा शाखा प्रमुख कार्कीले बताउनुभयो ।