Thursday, April 16News That Matters

कर्मचारी संक्रमित भएपछि खोटाङका दुई पालिकामा नियमित सेवा बन्द

खोटाङ, माघ ११ । खोटाङका दुई स्थानीय तहमा अत्यावश्यक बाहेकका नियमित सेवा बन्द भएको छ । कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हलेसी तुवाचुङ नगरपालिका र रावाबेसी गाउँपालिकामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको सम्बन्धित पालिकाले जनाएका छन् ।

दुवै पालिकाका केही कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसकारण भाइरस फैलिन नदिन माघ १० गते हिजो सोमबारदेखि १५ गतेसम्मका लागि हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय बन्द गरिएको नगरपालिकाले सूचना प्रकाशन गरेर जानकारी दिएको छ । यस्तै रावाबेसी गाउँपालिकाले १७ गतेसम्मका लागि आजदेखि कार्यालय बन्द गरेको सूचना प्रकाशन गरेर जानकारी गराएको हो ।

नियमित सेवा बन्द भए पनि अत्यावश्यकका सेवा भने प्रवाह गरिने दुवै पालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख छ । यस्तै पुनः कोरोना भाइरस गाउँसम्म फैलिएको हुँदा यसको रोकथामको लागि सबैले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न पालिकाले नागरिक समक्ष आग्रह समेत गरेका छन् ।