खोटाङ, माघ ११ । खोटाङको खोटेहाङ गाउँपालिका–४, बडकादियाले, नौलाकी दुवै मिर्गौला फेल भएकी १४ वर्षीया बालिका कविता विश्वकर्माको उपचारका लागि ५ लाख बढी आर्थिक सहयोग जुटेको छ । दुवै मिर्गौला फेल भएपछि बालिका कविताको गत मंसिर ९ गतेदेखि शिक्षण अस्पताल महारागञ्ज, काठमाडौँमा उपचार भइरहेको छ । उपचारमा आर्थिक अभाव भएपछि पुस ५ गतेबाट सञ्चालित ‘कविता विश्वकर्मा बचाऔँ’ अभियानमार्फत ५ लाख २१ हजार ३ सय १८ रुपैयाँ आर्थिक सहयोग जुटेको हो ।
खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती दिनानाथ माविमा कक्षा ९ मा अध्ययनरत बालिका कविताको उपचारार्थ विद्यालय परिवार, सोही विद्यालयका पूर्व विद्यार्थी, सरकारी तथा गैरसरकारी संघ संस्था, देश तथा विदेशमा रहेका नेपालीलगायतले आर्थिक सहयोग गरेका हुन् ।

अभियन्ता वराहपोखरी गाउँपालिका–१ स्थित शंखेश्वरी माविका पूर्व शिक्षक तथा हाल सुनसरीको इनरुवा नगरपालिका–६, मधेशास्थित जनता माविमा अध्यापन गराइरहनुभएका युवराज पौडेलले सहयोगीदाताले स्वतःस्फुर्त रूपमा सहयोग गरेका बताउनुभयो । कतिपयले बैंक खातामा र कतिपयले हाताहाती आर्थिक सहयोग प्रदान गरेका उहाँको भनाइ छ । सहयोगबापत प्राप्त रकम परिवारलाई बुझाइएको उहाँले बताउनुभयो ।
‘यो औपचारिक रूपमा प्राप्त रकम हो । योभन्दा बाहेक पनि केही रकम सहयोग प्राप्त भएको छ तर दाताहरूले खुलाउन चाहनुहुन्न’ पौडेलले भन्नुभयो, ‘थोपा–थोपा मिलेर सागर बन्छ । हाम्रो सानो सहयोगले कलिलै उमेरमा ज्यान जोखिममा परेकी बालिकाको जीवन बचाएर परिवारमा खुशी फर्काउन सकिन्छ भने किन कन्जुस्याइँ गर्ने !’
गम्भीर प्रकृतिको बिरामी भएकाले बालिकाको उपचारमा अझै पनि रकम अभाव रहेकाले परिवारले इच्छुकलाई सहयोग गर्न अपिल गरेका छन् । सहयोग गर्न चाहने व्यक्तिले बिरामी बालिका कविताका बुुबा श्यामकुमार विश्वकर्मालाई ९८६०५५४४२४ मा सम्पर्क गर्न वा राष्ट्रिय वाणिज्य बैंकमा उहाँको नाममा रहेको खाता नं. २३८०१००००३६२७०१० मा सोझै रकम जम्मा गर्न सक्नेछन् ।
