Thursday, April 16News That Matters

बुवालुङमा अनियमितता भएको भन्दै गठबन्धनको निरीक्षण

बुवालुङमा बसेको गठबन्धन बैठक ।

खोटाङ, माघ ११ । खोटाङको दिक्तेल रुपाकोठ मझुवागढी नगरपालिका–८, बुवालुङमा सञ्चालित विभिन्न योजनामा अनियमितता र ढिलासुस्ती भएको भन्दै गठबन्धन दलले चासो देखाएको छ । बुवालुङस्थित मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालयसम्मको सडक निर्माण गुणस्तरहीन भएको, अन्नपूर्ण माध्यमिक विद्यालयको सिँढी तथा पर्खाल निर्माणमा अनियमितता भएको, एकीकृत बस्ती निर्माण अलपत्र परेकोलगायत विषयमा जिल्ला प्रशासन कार्यालय खोटाङमा उजुरी परेपछि गठबन्धनले मंगलबार ती योजनाको स्थलगत निरीक्षण गरेको हो ।

स्थलगत निरीक्षणका क्रममा योजना निर्माणको जिम्मा पाएको उपभोक्ता समिति र विद्यालय प्रशासनका प्रतिनिधिलाई भेटेर ध्यानाकर्षण गराइएको नेपाली कांग्रेस खोटाङका उभसभापति तीर्थराज भट्टराईले बताउनुभयो । अनुगमनका क्रममा बुवालुङमा गठबन्धनको बैठक बसेर अनुगमनबाट देखिएको वास्तविकताको प्रतिवेदन जिल्ला प्रशासनमा बुझाउने निर्णय गरिएको भट्टराईको भनाइ छ ।

अनुगमनमा नेपाली कांग्रेसबाट उपभापति भट्टराई, नेकपा माओवादीबाट पार्टीका दिक्तेल रुपकोट मझुवागढी नगर अध्यक्ष विसन राई र नेकपा एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष जलशेर राई सहभागी हुुनुभएको थियो । यस्तै नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि सुमन आचार्य, दिक्तेल रुपकोट मझुवागढी नगरपकालिका–१ का कांग्रेस वडा सभापति गोपालसिंह राई, माओवादीका नगर सचिव उमेश राई, नेकपा एसका जिल्ला सदस्य जेपी राईलगायतको उपस्थिति रहेको कांग्रेस युवा नेता चन्द्र चौहानले जानकारी दिनुभयो ।

बुवालुङमा अनियमितता भएको भन्दै उजुरी परेपछि छानबिनका लागि जिल्ला प्रशासन कार्यालयले समितिसमेत गठन गरेर प्रक्रिया अगाडि बढाएको बताइएको छ ।