
खोटाङ, माघ १२ । नेपालका चार ठूला पार्टीका खोटाङ जिल्ला प्रमुख एउटै पालिकाका भएका छन । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र जनता समाजवादी पार्टीका जिल्ला प्रमुख नेता एकै पालिकाका भएका हुन । यी चार ठूला पार्टीका जिल्ला प्रमुखहरु दिप्रुङ चुईचुम्मा गाउँपालिकाका रहेका छन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत जिल्ला अधिवेशनबाट बिष्णुकुमार राई केही महिना अगाडि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ । राईको घर दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बु हो । यस्तै नेकपा एमालेको ७ औँ जिल्ला अधिवेशनबाट केही समय अगाडि रामप्रसाद दंगाल अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भयो । दंगालको घर दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे रहेको छ । यस्तै जनता समाजवादी (जसपा)का जिल्ला अध्यक्ष टंक थापाको घर पनि सोहि गाउँपालिका–२ डाँडागाउँ हो ।
यसअघि तीन ठूला पार्टीको जिल्ला प्रमुख एकै गाउँपालिकाका रहनु भएको थियो । हिजो नेकपा माओवादी प्रदेश १ समितिको विराटनगरमा बसेको दोस्रो बैठकले सोहि गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका दीपक पाण्डे (आकाश)लाई खोटाङ जिल्ला संयोजकको जिम्मेवारी दिएसँगै चार ठूला पार्टीको जिल्ला प्रमुख एकै पालिकाका भएका छन् ।
यस्तै अर्को पार्टी एकीकृत समाजवादी (एस) का जिल्ला अध्यक्ष जलशेर राईको घर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा हो । देशका पाँच ठूला पार्टीका जिल्ला अध्यक्ष खोटाङ पद्रेश सभा ‘ख’ का रहँदा जिल्लाको राजनीति उतैतिर ढल्केको देखिन्छ ।
