खोटाङ, माघ १२ । जिल्ला नेतृत्व परिवर्तनसँगै नेकपा (माओवादी केन्द्र) ले खोटाङका १० वटै पालिकामा इन्चार्ज र सह–इन्चार्ज पनि टुंगो लगाएको छ ।
माओवादी केन्द्र प्रदेश १ समितको हिजो विराटनगरमा बसेको बैठकले यसअघिका जिल्ला समन्वय समिति संयोजक देवान किराँती ‘पृथ्वी’ १ नं. प्रदेश समिति उपाध्यक्षमा निर्वाचित भएपछि जिल्ला संयोजकमा दीपक पाण्डे ‘आकाश’ र सचिवमा जीवन राई ‘सँगीन’ लाई चयन गरेको थियो । त्यसको भोलिपल्टै आज पार्टीले जिल्लाका १० वटै स्थानीय तहको इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी पनि तोकेको हो ।
जिल्ला संयोजक पाण्डेलाई केपिलासगढी गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको इन्चार्जमा होमकाजी आचार्य ‘विनोद’ तथा सह–इन्चार्जमा विकाश राईलाई जिम्मेवारी दिइएको छ भने हलेसी तुवाचुङ नगरपालिकाको इन्चार्जमा हस्तबहादुर राई ‘आमोद’ चयन हुनुभएको छ ।
यसैगरी ऐँसेलुखर्क गाउँपालिकाको इन्चार्जमा श्रीबहादुर राई, रावाबेँसी गाउँपालिकाको इन्चार्जमा सीताराम अधिकारी ‘भूमि’, साकेला गाउँपालिकाको इन्चार्जमा अर्जुनकुमार खड्का ‘झङ्कार’, सह–इन्चार्जमा बिर्सिका राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको इन्चार्ज अजम्बर राई, सह–इन्चार्जमा लक्ष्मीकुमार राई चयन हुनुभएको छ ।
खोटेहाङ गाउँपालिकाको इन्चार्जमा उदिम बान्तावा ‘मुक्ति’, सह–इन्चार्जमा सुशीला बान्तवा र इन्द्र नारथुङे, जन्तेढुङ्गा गाउँपालिकाको इन्चार्जमा अरुणा राई ‘दीक्षा’ तथा सह–इन्चार्ज वीरबल राई र राजकुमार विष्ट तथा वराहपोखरी इन्चार्जमा निशाना राई चयन हुनुभएको पार्टीले जनाएको छ ।
