Thursday, April 30News That Matters

कर कार्यालय खोटाङको राजश्व संकलन लक्ष्यभन्दा २८ प्रतिशत कम

खोटाङ, १२ माघ । करदाता सेवा कार्यालय खोटाङले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ ।

कार्यालयले राजश्व विभागबाट साउनदेखि पुस मसान्तसम्मको अवधिमा ७ करोड ५१ लख ४२ हजार राजश्व संकलनको लक्ष्य पाएको थियो । त्यसमध्ये ५ करोड ३९ लाख ७४ हजार मात्र संकलन गर्न सकेको हो जुन लक्ष्यभन्दा २८ दशमलव १७ प्रतिशत कम हो ।

कर अधिकृत हरि आचार्यका अनुसार आयकर, मूल्य अभिवृद्धि कर, ब्याज कर, अन्तःशुल्क र घरबहाल करबापत उक्त रकमको राजश्व संकलन भएको हो । स्थानीय तह गठनपछि व्यक्तिगत घरबहाल कर स्थानीय तहमै दाखिला हुन्छ भने प्राइभेट निकायको १० प्रतिशत  घरबहाल कर मात्र कार्यालयमा जम्मा हुने गरेको छ ।

पूँजीगत खर्चमा कमी, करदाताको विवरण संशोधनमा ढिलाइ, आर्थिक वर्षको सुरुवाती चरणमा कोभिड–१९ महामारीले कारोबार प्रभावित हुनुुलगायत कारणले लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको आचार्यको भनाइ छ ।

८ सय ९ नयाँ करदाता थपिए
कार्यालयमा चालु आर्थिक वर्षको ६ महिनामा ८ सय ९ जना नयाँ करदाता थपिएका छन् । आयकरका ३ सय ८१, व्यक्तिगत पानका ३ सय ६७, सरकारी निकायका ३५, अन्तःशुल्कका १४ र मूल्य अभिवृद्धि कर दर्ताका १२ जना नयाँ करदाता थपिएका हुन् । योसँगै कार्यालयको राजश्व संकलनमा योगदान गर्ने व्यक्ति तथा फर्मको संख्या ११ हजार ९ सय ५८ पुगेको कर अधिकृत आचार्यले जानकारी दिए ।

आन्तरिक राजश्व कार्यालय लहान मातहत २०७६ वैशाखबाट सदरमुुकाम दिक्तेलमा स्थापना भई सञ्चालनमा आएको करदाता सेवा कार्यालयबाट स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र वितरण, मूल्य अभिवृद्धि कर दर्ता, अन्तःशुल्क इजाजत तथा नवीकरण, कर संकलन, करदाताको विवरण संशोधनलगायत सेवा प्रवाह हुँदै आएको छ ।