Saturday, April 25News That Matters

खोटाङ : अलैँची उत्पादनमा २५ प्रतिशतले गिरावट, मूल्य भने वृद्धि

फाईल तस्विर

खोटाङ, माघ १३ । खोटाङमा अलैँची उत्पादनमा गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष जिल्लामा २५.२१ प्रतिशतले अलैँची उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।

जिल्लामा अघिल्लो वर्ष ७८७.३६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो । यो वर्ष १९८.५२ ले घटेर ५८८.८४ मेट्रिकटन उत्पादन भएको ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो ।

अलैँची फूल खेल्ने समयमा लगातार वर्षासँगै असिना पानी पर्दा उत्पादन घटेको कृषकको भनाइ छ । अलैँची उत्पादनमा गिरावट आएपनि अघिल्लो वर्षको तुलनामा यो वर्ष मूल्य वृद्धि हुँदा केही राहत मिलेको केपिलासगढी गाउँपालिका १ फेदीका अलैँची कृषक मनकुमार तामाङले बताउनुभयो । कृषक तामाङले भन्नुभयो, “चैत वैशाखको समयमा अलैँची फुल्छ, उचाइ अनुसार भदौदेखि कात्तिक महिनाभित्रमा अलैँची फल टिप्नुपर्ने हुन्छ । यो वर्ष फूल खेलेको समयमा असिना पानी परेर फूल झर्यो त्यसैले उत्पादन घटेको हो ।”

अघिल्लो वर्ष ५ मन अलैँची उत्पादन गर्नुभएका तामाङले २० देखि २५ हजार रुपैयाँ प्रति मन बिक्री गरेको बताउनुभयो । यो वर्ष उत्पादन आधा घटेर ३ मन पनि उत्पादन भएन, तर प्रति मन ४५ हजार रुपैयाँ बिक्री हुँदा राहत मिलेको उहाँको भनाइ छ ।

खोटाङमा करिब वि.सं. २०४५ सालबाट अलैँची उत्पादन गर्न सुरु गरिएको हो । सुरुवाती चरणमा राम्रो आम्दानी भएपछि अलैँची खेतीप्रति कृषक उत्साहका साथ होमिएका थिए, तर पछिल्लो समय उत्पादनमा गिरावट, बजारीकरणमा समस्या र स्थिर मूल्य नहुँदा निराशापन छाएको कृषक बताउँछन् ।

खोटाङको उत्तरी भेगमा अलैँची खेती हुँदै आएको छ ।