
खोटाङ, माघ १४ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा वडा कार्यालय र विद्यालयको ताला तोडफोड भएको छ । ३ नं. वडा कार्यालय ऐँसेलुखर्क र सोही वडाको भस्मे सिरानटोलस्थित त्रिभुवन माध्यमिक विद्यालयको ताला तोडफोड भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
गए राति अज्ञात समूहले वडा कार्यालय र विद्यालयको ताला तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो ।
वडा कार्यालयको घेराबाराको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ । ढोका फोडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयको भौतिक सामानहरु भने सुरक्षित छन । वडा कार्यालयले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कमा उजुरी दिएको छ ।
यस्तै विद्यालयको मूल ढोका र तीन वटा दराजको चाबी तोडफोड भएको छ । दराजको चाबी तोडेर कागजात छरपस्ट छाडेको भेटिएको विव्यस अध्यक्ष टेकेन्द्र राजभण्डारीले बताउनुुभयो ।
कसैले चोरीका लागि वडा कार्यालय र विद्यालयको ताला तोडफोड गरेको हुन सक्ने प्रहरीको अनुमान छ । तर, ताला तोडफोड भए पनि जिन्सीका सामान चोरी भने नभएको र तोडफोडमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
