
खोटाङ, माघ १४ । नेपाली कांग्रेस खोटाङले संगठन निर्माण तीव्र पारेको छ । ७ औँ जिल्ला अधिवेशनपछि पार्टीले संगठन निर्माणको अभियानमा सक्रियता बढाएको हो ।
जिल्ला कार्य समितिको पहिलो बैठकबाट जिल्लाका ७९ वटै वडामा टोल समिति गठन गर्ने, सबै तहका समितिलाई पूर्णता दिने, भातृ तथा शुभेच्छुक संघ÷संस्थाहरूलाई पूर्ण रूपमा परिचालन गर्दै गतिशील बनाउने अभियानमा नेपाली पार्टी लागि परेको पार्टीले जनाएको छ ।
सोही अभियान अन्तर्गत टोल कार्य समिति गठनपछि आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.–७ , दोर्पा चिउरीडाँडा अन्तर्गत तलेघर टोल कार्य समितिको टोल नं. १ को कार्यालय उद्घाटन गरिएको छ । कार्यालयको नेपाली कांग्रेस खोटाङका उपसभापति तीर्थराज भट्टराईले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भट्टराईले अब हुने केन्द्र, प्रदेश र स्थानीय तहको ३ वटै निर्वाचनमा कांग्रेसको जित सुनिश्चित भएको बताउनुभयो ।
त्यसका लागि गाउँ गाउँमा पार्टीका कार्यकर्तालाई उच्च मनोबलका साथ संगठन निर्माणमा जुट्न उहाँले आग्रह गर्नुभयो । उहाँले एमाले देशैभरि संस्थागत ढंगबाट भ्रष्टाचारमा संलग्न भएकोले यस्तो गलत कार्यका विरुद्ध एकताबद्ध भई जुटेर मुकाविला गर्न आग्रह गर्नुभयो ।
उक्त कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेसका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा वडा अध्यक्ष महन्त राईले कांग्रेसले जितेको वडामा विकास निर्माण गर्न बजेट विनियोजन गर्दा नगरबाट अन्यायपूर्ण ढंगबाट विभेद गरिएको भन्दै अब हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउनका लागि एकताबद्ध ढंगले सकृयतापूर्वक खट्न सबै पार्टी पंक्तिलाई अनुरोध गर्नुभयो ।
टोल सभापति मागदल राईको सभापतित्वमा भएको कार्यक्रममा नेपाल प्रजातान्त्रिक महासंघका केन्द्रीय सदस्य हरिप्रसाद चौलागाईं, पार्टी वडा सभापति समृत राई , दलित संघ वडा सभापति दीपक हिङमाङलगायतले सम्बोधन गर्नुभएको थियो ।
खोटाङ जिल्लामै टोल समितिको औपचारिक रुपमा कार्यालय संचालनमा ल्याउने दोर्पा चिउरीडाँडाको टोल नं.–१ , तलेघर टोल समिति पहिलो भएको पार्टीले जनाएको छ ।
