Wednesday, September 16News That Matters

वडा कार्यालय र विद्यालय तोडफोडमा संलग्नलाई कारबाही गर्न गाउँपालिकाको माग

फाइल तस्वीर ।

खोटाङ, माघ १६ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले वडा कार्यालय र विद्यालय तोडफोडमा संलग्नलाई कारबाहीको माग गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाले माघ १३ गते बिहिबार राति ऐँसेलुखर्क गाउँपालिका–३ को वडा कार्यालय र वडा कार्यालयसँगै रहेको त्रिभुुवन माध्यमिक विद्यालय तोडफोडमा संलग्नलाई कारबाहीको माग गरेको हो ।

सो घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गाउँपालिकाले घटनाको सम्बन्धित वडा कार्यालय, विद्यालय र इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कबाट छानबिनको प्रयास भइरहेको जनाएको छ । गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले हस्ताक्षर गर्नुुभएको विज्ञप्तिमा अज्ञात समूहले वडा कार्यालयको गेटको चाबी तोडेर कार्यालयभित्र प्रवेश गरी वडाध्यक्ष र सचिवको कार्यकक्ष र वडाको सभाहल तोडफोड गरेको, वडाको ल्यापटप, कम्प्युटर जस्ता जिन्सी सामग्री छरपस्ट पारिएको त्यस्तै विद्यालयको कार्यालय छिर्ने ढोका तोफोड गरेर प्रधानाध्यापकको कार्यकक्षमा रहेको ल्यापटप राख्ने बाकस फोडी खानतलासी गरेर विभिन्न कागजातहरू छरपस्ट पारेको भेटिएको उल्लेख छ ।

सार्वजनिक ठाउँमा मध्यरातमा अज्ञात समूहबाट यस्तो अराजक घटना हुनु निन्दनीय भएको भन्दै गाउँपालिकाले दोषीमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

यता जिल्ला प्रहरी कार्यालय खोटाङले पनि तोडफोडमा संलग्न व्यक्तिको खोजी भइरहेको जनाएको छ ।