खोटाङ, माघ १७ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले स्थानीय तह चुनावको मिति यथाशीघ्र घोषणा गर्न माग गरेको छ । अनेरास्ववियुले आज जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षणपत्र पठाउँदै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएको हो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई ध्यानकर्षणपत्र पठाउँदै अनेरास्ववियुले जनताको स्वच्छ जनमतबाट नभई अदालतको परमादेशबाट बनेको अप्राकृतिक गठबन्धनको सरकारले संविधानको वस्तुगत भावना र मर्मविपरीत स्थानीय तहको निर्वाचनको मिति तोक्न आनाकानी गरेर नेपाली जनताको आन्दोलनबाट प्राप्त मुलुकको संघीयतालाई नै कमजोर बनाउने दुस्प्रयास गरिरहेको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जनताको हक अधिकारलाई हनन गरेर लोकतान्त्रमाथि निर्मम प्रहार गर्ने र मुलुकका सबै तहमा अस्थिरता सिर्जना गर्ने गतिविधिले सरकार अस्थिरताको मतियार बन्दै गएको प्रष्ट पारेको अनेरास्ववियुको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
लोकतन्त्रको मूल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत रहेको बताउँदै अनेरास्ववियुले संविधान विपरीत प्रतिगामी सत्ता गठबन्धनको विभिन्न बहानाबाजीमा निर्वाचनबाट पराजित हुने डर साथै अप्राकृतिक गठबन्धनलाई टिकाउने अभिलाषा प्रष्ट देखिएको उल्लेख गरेको छ । यस्ता व्यवस्था विरोधी प्रतिगामी तत्त्वहरूको भण्डाफोर गर्दै अनेरास्ववियु जिल्ला कमिटी खोटाङ सधैँ मुलुकमा सुशासन, राष्ट्र, राष्ट्रियता र संविधानको रक्षाका निम्ति सडकको बाघको भूमिका खेल्दै आएको र आवश्यक परे पुनः आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयं सत्ता गठबन्धन हुनुपर्ने चेतावनीसमेत अनेरास्ववियुले दिएको छ ।
ध्यानाकर्षणपत्र बुझाउन एमाले केन्द्रीय कमिटी सचिवालय सदस्य ओमप्रकाश घिमिरे, जिल्ला कमिटी सदस्य दीपक ठटाल, अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष यम खड्का, सचिव विष्णु उपरकोटीलगायत जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो ।
