खोटाङ, माघ १८ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल खोटाङले विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले वन उपभोक्ता समूहको संवैधानिक र कानूनी अधिकार हनन हुने गरी नेपाल सरकारले तर्जुमा गरेको वन नियमावली र सामुदायिक वन विरोधी प्रदेश वन ऐनहरूका विरुद्ध वन विभाग परिसर, बबरमहल काठमाडौंमा शान्तिपूर्ण रूपमा एक घण्टे धर्ना कार्यक्रम सञ्चालन गरिरहँदा पक्राउ परेका सामुदायिक वन अधिकारकर्मीलाई रिहा गर्न माग गरेको हो ।
विरोधमा उत्रिँदा पक्राउ परेका सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष भारती पाठकसहितका सामुदायिक वन अधिकारकर्मीलाई नेपाल सरकारको सुरक्षा निकायले धरपकड र गिरप्तार गरेकोप्रति महासंघले भत्र्सना गरेको छ । नेपालको संविधानको धारा १७ बमोजिम प्रत्येक नागरिक र नागरिक समाजलाई आफ्ना सवालहरूका विषयमा विचार र अभिव्यक्तिको स्वतन्त्रता र शान्तिपूर्वक भेला हुने मौलिक हक रहेको र सोही बमोजिम महासंघले आफ्ना मागहरूका बारेमा नेपाल सरकार र प्रदेश सरकारलाई ध्यानाकर्षण गराउनका लागि कोभिडको प्रभाव समेतलाई मध्यनजर गर्दै सीमित संख्यामा उपस्थित भई गर्दै आएको शान्तिपूर्ण धर्ना कार्यक्रममा सुरक्षा निकायबाट ठाडो हस्तक्षेप गर्ने गराउने कार्यले नेपाल सरकार नै वन तथा प्राकृतिक स्रोतमाथिको सामुदायिक अधिकार हरण गर्नमा उद्यत छ भन्ने स्पष्ट देखिएको महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महासंघले सामुदायिक वन अधिकारका सन्दर्भमा उठाउँदै आएका मागहरूलाई सम्बोधन गर्नका लागि अभियानकर्मीलाई वार्तामा आउन आह्वान गर्नुको सट्टा शान्तिपूर्ण धर्नामा बसेका पदाधकारीहरूलाई उल्टै धरपकड र गिरफ्तार गरिनु आपत्तिजनक रहेको बताएको छ । सरकारले पक्राउ परेका अधिकारकर्मीलाई अबिलम्ब रिहा नगरे देशभरका २२ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समूहहरू र महासंघको सबै जिल्लामा रहेका संरचनाका लाखौँ सदस्यहरू सशक्त विरोधमा उत्रन बाध्य हुने चेतावनीसमेत महासंघले दिएको छ ।
