
खोटाङ, माघ १९ । खोटाङमा टयाक्टरले किचेर एक बालकको मृत्यु भएको छ । रावाबेंसी गाउँपालिका–५, दुबेकोल, भदौरेका १३ वर्षीय बालक रोशन विकको टयाक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान करिब ९ बजेको समयमा भदौरेस्थित भित्री सडकखण्डबाट चिन्डेश्वरातर्फ ढुंगा लिन जाँदै गरेको प्रदेश २–०३–००१ त ३२९४ नम्बरको टयाक्टर सडकडमा कोल्टे परी दुर्घटना भएको थियो । दुर्घटनामा परेको टयाक्टरको पाङ्ग्राले किचेर बालक रोशनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो ।
मृतक बालक सोही ट्याक्टरमा मजदुरको रूपमा काम गर्दै आएका थिए ।
दुर्घटनापछि टयाक्टर र चालक रावाबेंसी गाउँपालिका–३ लामीडाँडाका २१ वर्षीय रोशन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालकको शव पोष्टमार्टमका लागि दिक्तेल लगिएको छ ।
