
खोटाङ, माघ २० । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले बत्ती बालेर सरकार खोजेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि, सिटामोल जस्तो अत्यावश्यकीय औषधी अभावले नागरिकलाई मर्का पर्दा पनि मौन रहेकोप्रति अनेरास्ववियुले सरकारको ध्यानाकर्षण गराएको हो ।
अनेरास्ववियुले आज साँझ सदरमुकाम दिक्तेलमा इन्धनको मूल्य वृद्धि फिर्ता, सिटामोलको सहज उपलब्धता, कालोबजारी र महँगी नियन्त्रण तथा स्थानीय तह निर्वाचन तत्काल घोषणाको माग गर्दै सांगीतिक -याली निकालेको छ । ‘बत्ती बालेर खोजौँ, सरकार कहाँ छ !’ नारा लेखिएको पर्चासहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले बत्ती बालेरै सरकारविरुद्ध खबरदारी गरेका छन् ।
असंवैधानिक तवरले सर्वोच्च अदालतको परमादेशबाट बनेको वर्तमान गठबन्धन सरकार नागरिकका समस्यामा अलिकति पनि गम्भीर नबनेकाले प्रदर्शनमा उत्रन बाध्य भएको अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन संग्रामले बताउनुभयो । सरकारले आफूहरूका माग तत्काल पूरा नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनीसमेत अनेरास्ववियुले दिएको छ ।

