
खोटाङ, फागुन ८ । दुर्घटनामा परेर खोटाङको रावाबेसी गाउँपालिकामा कार्यरत ३१ वर्षीय इन्जिनियर दिपक ढुंगानाकाको मृत्यु भएको छ । मोटरसाईकल दुर्घटनामा गम्भीर घाईते इन्जिनियरको उपचारकालागि काठ्माण्डौं लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
ऐसेलुखर्क गाउँपालिका–७ माक्पा घर भएका स्टाफको बहिनीको बिहेमा गएर फर्कनेक्रममा दुई जना सवार प्रदेश ३–०–२–००७ प ५३३३ नम्बरको मोटरसाईकलमा माक्पा फेदी सडक खण्डमा शनिबार राती करीब ७ बजे दुर्घटना भएको हो । सडकबाट करीब २ सय ५० मिटर तल खसेका इन्जिनियर ढुंगानाको टाउको र छातीमा गहिरो चोट लागेको थियो ।
दुर्घटनामा घम्भिर घाइते ढुंगानाको स्वास्थ्यचौकी माक्पामा प्राथमिक उपचार पछि तथ उपचारकालागि एम्बूलेन्सबाट काठ्माण्डौं लैजानेक्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार पुगेपछि रातको करीब १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । मृतक ढुंगानाको शव जिल्ला अस्पताल लगिएको छ । आफन्त आएपछि पोष्टमार्टम गरेर शव बुझाउने तयारी भइरहेको उहाँको भनाइ छ ।
ऐसेलुखर्क गाउँपालिकाका हुलास गुरुङले चलाएको मोटरसाईकलमा मृतक ढुंगाना पछाडी बसेका थिए । चालक गुरुङलाई मोटरसाईकल सहित प्ररहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी निरीक्षक साहका अनुसार मृतक ढुंगानाले मद्यपान सेवन गरेको र पिसाब फेर्न मोटरसाईकल रोक्न अनुरोध गरेपछि रोक्न खोज्दा अगाडिनै ढुंगाना मोटरसाईकलबाट भिरमा झरीसकेको चालक गुरुङले बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
चितवनको भरतपुर महानगरपालिका–६ का ढुंगाना दुई महिना अघिदेखि रावाबेसी गाउँपालिका कार्यरत रहेका थिए ।
