Friday, April 17News That Matters

विद्यार्थी यातायात सहुलियत तत्काल कार्यान्वयन गर्न अनेरास्ववियु खोटाङको माग

सहायक प्रजिअ विकल श्रेष्ठलाई ध्यानाकर्षपत्र बुझाउँदै अनेरास्ववियुको टोली ।

खोटाङ, फागुन ८ । विद्यार्थीलाई यातायातमा सहुलियतको माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । विद्यार्थीले यातायातमा पाउने ४५ प्रतिशत छुट तत्काल कार्यान्वयनको मागसहित अनेरास्ववियुले सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

‘…अनेरास्ववियुका पूर्व अध्यक्ष दिवंगत कमरेड रवीन्द्र अधिकारी नेतृत्वको आन्दोलनबाट प्राप्त भएको यातयातको क्षेत्रमा ४५ प्रतिशत विद्यार्थी सहुलियतको विषय आज कार्यान्वयनभन्दा टाढा पुगेको छ ।’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘अझ हाम्रो जिल्लाको हकमा भन्ने हो भने यसको सानो अंश पनि बाँकी छैन ।’

विद्यार्थीहरूले रगत र पसिना बगाएर प्राप्त गरेको उक्त उपलब्धिलाई कार्यान्वयन नगरिएकोप्रति अनेरास्ववियु खोटाङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अनेरास्वविययुको आन्दोलनबाट मुलुकमा विभिन्न उपलब्धिहरू प्राप्त भएको भए पनि विभिन्न पक्षहरूले बदनियतसहित ती उपलब्धिहरूलाई कमजोर बनाइरहेका अनेरास्ववियुले ध्यानाकर्षणपत्रमा उल्लेख गरेको छ । नयाँ नेतृत्व र नयाँ उर्जासहित जिल्लाभरि विद्यार्थीका मुद्दामा केन्द्रीत भइरहेको अनेरास्ववियु कमिटीले यस्ता विषयहरूमा ‘जेरो टोलरेन्स’ को नीतिसहित अगाडि बढिरहेको अनेरास्ववियु जिल्ला कमिटी खोटाङका अध्यक्ष मोहन संग्रामले बताउनुभयो ।

गुम्न लागेको उपलब्धिलाई सुरक्षित गर्नका लागि जिल्लास्थित यातयात व्यवसायी संघका प्रतिनिधिहरू र अनेरास्ववियुसहित तत्काल छलफल बोलाउनका लागि आग्रह गरिएको छ । अबको ३ दिनभित्र छलफलबाट यो विषय नटुंग्याए अनेरास्ववियु खोटाङ थप आन्दोलनका कार्यक्रमसहित प्रस्तुत हुन बाध्य हुने ध्यानार्षणपत्रमा चेतावनी दिइएको छ ।