
खोटाङ, फागुन ९ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले स्ववियुको नमुना निर्वाचन गरेको छ । लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन आवश्यक ‘छ’ वा ‘छैन’ भन्ने बुझ्न अनेरास्ववियुले दिक्तेल बहुमुखी क्याम्पसमा नमुना निर्वाचन गरेको हो ।
मतदानमा सहभागी २ सय ७८ जना विद्यार्थीहरूमध्ये २ सय १८ जनाले स्ववियु निर्वाचनको पक्षमा र ४७ जनाले विपक्षमा मतदान गरेका छन् । १३ मत भने बदर भएको अनेरास्ववियु खोटाङका सचिव विष्णु उपरकोटीले जानकारी दिनुभयो ।

स्ववियु निर्वाचन गराउन सम्बन्धित निकायलाई दबाब दिने उद्देश्यले विद्यार्थीको मत सर्वेक्षण गरिएको अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन संग्रामले बताउनुभयो । स्ववियुको यो कार्यक्रमले नजिकिँदै गरेको स्थानीय तह निर्वाचनमा पहिलोपटक मतदान गर्ने नयाँ मतदाताहरूलाई पनि सहयोग पुगेको संग्रामको भनाइ छ ।
मतदानका लागि आवश्यक सामग्री जिल्ला निर्वाचन कार्यालय खोटाङले प्रदान गरेको थियो ।
