खोटाङ, फागुन ९ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, खोटाङको दोस्रो जिल्ला अधिवेशन फागुन १३ गते हुने भएको छ । फागुन १३ गते बिहान १० बजे जिल्ला समन्वय समितिको समीक्षालय हल, दिक्तेलमा अधिवेशन गर्ने निर्णय भएको अधिवेशन संयोजक तीर्थराज आचार्यले जानकारी दिनुभयो ।
‘सम्पूर्ण स्वास्थ्यकर्मीहरू एकजुट होऔँ’ भन्ने नारासहित हुने अधिवेशनले संघको ४१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति, २ जना केन्द्रीय प्रतिनिधि र २ जना प्रदेश प्रतिनिधि चयन गर्नेछ ।
जिल्ला कार्यसमिति निर्विरोध चयन गर्ने तयारी भएको विश्वस्त स्रोतले जनाएको छ । केन्द्रीय प्रतिनिधिको हकमा संशोधित नयाँ विधान अनुसार ५० जना सदस्य बराबर महिला र पुरुषको प्रतिनिधित्व हुने गरी प्रतिनिधि चयन हुनेछ ।
यसअघि माघ ७ गते गर्ने भनिएको जिल्ला अधिवेशन कोरोना भाइरस संक्रमण बढेपछि स्थगित गरिएको थियो ।
