Thursday, April 16News That Matters

हलेसी मन्दिर : कोरोनाको कारण आम्दानी घट्यो, तीन वर्षमा १ करोड ९२ लाख भेटी संकलन


खोटाङ, फागुन १३ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण त्रिधार्मिक स्थल हलेसी मन्दिरको आम्दानीमा उच्च गिरावट आएको छ । गत तीन आर्थिक वर्षको आय व्यय विवरण सार्वजनिक गर्दै हलेसी सूचना केन्द्रले मन्दिरको वार्षिक आम्दानी घटेको जनाएको हो ।

सूचना केन्द्रका प्रमुख सयन्द्र राईले मन्दिरबाट तीन आर्थिक वर्षको अवधिमा १ करोड ९२ लाख ३७ हजार ४ सय ८८ रुपैयाँ आम्दानी भएको जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५/०७६ मा ८७ लाख १९ हजार २ सय १५, २०७६/०७७ मा ५३ लाख ८९ हजार ८ सय ६९ र २०७७/०७८ मा ५१ लख २८ हजार ४ सय ४ रुपैयाँ गरी तीन आर्थिक वर्षमा जम्मा १ करोड ९२ लाख ३७ हजार ४ सय ८८ रुपैयाँ भेटी संकलन भएको विवरण सूचना केन्द्रले सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा आर्थिक वर्ष २०७४/०७५ मा भन्दा १ सय ९ प्रतिशत बढी आम्दानी भएकोमा त्यसपछिका दुई वर्ष आम्दानी घटेको देखिएको छ । कोरोना महामारीका कारण लामो समय मन्दिर बन्द रहँदा आम्दानी घटेको सूचना केन्द्रका प्रमुख राईको भनाइ छ ।
यस्तै तीन वर्षमा प्राप्त आम्दानीबाट विभिन्न प्रयोजनमा १ करोड १५ लाख ३१ हजार ५० रुपैयाँ खर्च भएको छ । खर्च कटाएर बाँकी रहेको रकम ७७ लाख ६ हजार ४ सय ३८ रुपैयाँ हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको नाममा माचापुच्छ्रे बैंकमा रहेको खातामा मौज्दात रहेको सूचना केन्द्रले जनाएको छ ।

यस्तै तीन वर्षमा दर्शनार्थी तथा पर्यटकले भा.रु. १ लाख ८८ हजार ६ सय ३८, अमेरिकी डलर ९४, सिंगापुर डलर १०, भुटानी रकम १ हजार २ सय ७१, हङकङ डलर २०, कतारी रियाल २ र चाइनिज ऐन १ सय ४३ चढाएका छन् ।

त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा ५१.२८ तोला चाँदी, ०.२१ तोला स–साना सुनका टीका, २०७६/०७७ मा २६.९९७ तोला चाँदी, ०.२७२ तोला सुनका स–सना टीकाहरू, १ तोला सुनको औंठी र २०७७/०७८ मा ६६४.५७ ग्राम चाँदी, १ केजी बुनिया काँचो चाँदी र १ तोलाको सिक्रीसहित २१.२२ ग्राम सुन चढाएका सूचना केन्द्रले जनाएको छ ।

हिन्दु, बौद्ध र किरात धर्मालम्बीको साझा आस्थाको केन्द्र रहेको हलेसी मन्दिरको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । तेस्रो लहरको कोरोना संक्रमण बढेपछि गत माघ ७ गतेदेखि बन्द रहेको मन्दिर फागुन १ गतेदेखि दर्शनार्थी तथा पर्यटकका लागि खुला गरिएको छ ।