
राजकुमार भट्टराई (सरगम)
खोटाङ, फागुन १२ । खोटाङको सबै भन्दा पुरानो लामीडाँडा विमानस्थल यतिबेला काम बिहिन बनेको छ । जिल्लाको रावाबेसी गाउँपालिका–३ लामीडाँडाामा वि.स. २०२८ सालमा निर्माण सम्पन्न पश्चात खोटाङवासीको यात्राको एक मात्र माध्यम भएको विमानस्थल अहिले काम बिहिन बनेको हो ।
कच्ची लामीडाँडा विमानस्थललाई पक्की बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले रु ६ करोड ३४ लाख बजेट बिनियोजन गरेपछि निर्माण कम्पनी वाइएएन–एसएपी–सुर्य कन्ट्रक्सन जेभीले २०७३ साल कार्तिकमा विमानस्थल कालोपत्रेको सम्झौता गरेको थियो । सुरुमा गरेको सम्झौता अनुसार काम सम्पन्न नभएपछि पुनः म्याद थप गरेर विमानस्थल स्तरोन्नति पश्चात २०७६ असार ३ गते प्राधिकरणले समिट एयरको जहाजको सफल परीक्षण उडान गरेको थियो ।
कच्ची हुँदा हप्तामा दुई दिन उडान भइरहेको विमानस्थल स्तरोन्नति पश्चात नियमित उडान हुन्छ भन्ने स्थानीयवासीले सोचेका थिए । तर स्तरोन्नति पश्चात परीक्षण उडान भएपछि अहिलेसम्म लामीडाँडा विमानस्थलमा एक पटक पनि उडान हुन सकेको छैन ।
विमानस्थल स्तरोन्नतिपछि पहिलो उडानका क्रममा काठमाडौंबाट पुगेका प्राविधिक तथा जहाजका कर्मचारीलाई स्वागत गर्दै खोटाङका संघीय सांसद विशाल भट्टराईले अब यस भेगका बिरामीले काठमाडौंबाट हेलिकोप्टर मगाउनु पर्ने अवस्थाको अन्त्य हुने बतानुभएको थियो । लामीडाँडा विमानस्थलमा अब नियमित उडान गर्न पहल आफुले गर्ने उहाँको भनाई थियो । खोटाङसहित सोलुखुम्बु र ओखलढुंगाका नागरिकसमेत जहाज चढ्न लामिडाँडा आउने भएकाले नियमित उडान गर्दा वायुसेवा कम्पनीलाई घाटा नहुने भएकाले नियमित उडान हुने भट्टराईको दाबी थियो ।
लामीडाँडा विमानस्थलबाट करीब एक घण्टाको बाटोमा हलेसी मन्दिर पर्छ । तसर्थ खोटाङको पहिचानका रुपमा रहेको हलेसी महादेवको मन्दिरका कारण लामीडाँडा विमानस्थलमा यात्रुको कमी नहुने भएकाले नियमित उडान हुने रावावेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभएको थियो । यसरी जनप्रतिनिधिले बोलिरहदा स्थानीय नागरिक पनि हर्षित भएका थिए ।
विमानस्थल स्तरोन्नति भएर परीक्षण उडान भएको अहिले ३ वर्ष पुग्न लाग्दा एक पटक पनि उडान नहुँदा नागरिक यतिबेला आक्रोषित भएका छन् । विमानस्थलमा बिमान उडान हुनेत कुरै छाडौँ अहिले कार्यालयमा ताला लगाइएको छ ।
समुन्द्री सतहबाट १२३० मिटर उचाईमा रहेको लामीडाँडा मौसमका दृष्टिकोणबाट पनि सुरक्षित विमानस्थल रहेको प्राधिकरणको भनाइ छ ।
५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइ धावनमार्ग रहेको सो विमानस्थलमा ट्वीनटर जहाजहरु उडान–अवतरण गर्न सक्ने प्राधिकरणले जनाएको छ ।
खोटाङमा लामीडाँडासँगै खानीडाँडा र थामखर्क गरी तीन वटा विमानस्थल रहेका छन् । स्तरोन्नती पश्चात अन्य दुई वटा विमानस्थलमा नियमित उडान भइरहेको छ । जिल्लामा सबै भन्दा सुरुमा सञ्चालनमा आएर जिल्लावासीको यात्राकालागि एक मात्र माध्याम रहेको लामीडाँडा बिमानस्थल भने अहिले काम बिहिन बनेको छ ।
