खोटाङ, फागुन १५ । लामो समयको अन्यौलतापछि अन्ततः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता पारित भएको छ । आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट एमसिसी सम्झौता पारित गरेको हो ।एमसिसीसँगै संसदले यसको १२ बुँदे व्याख्यात्मक घोषणा पारित पनि पारित गरेको छ । पछिल्लो समय नेपाली राजनीतिको ‘हटकेक’ बनेको एमसिसी लामो विवाद र बहसपछि सम्झौता भएको चार वर्षपछि पारित भएको हो ।
सम्झौता पारित गर्न संसदमा ध्वनि मत प्रयोग गरिएको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने एमसिसी अनुमोदन प्रक्रियामा सहभागिता जनाएन । एमसिसी पारित हुँदा एमाले सांसदहरू वेल घेरेर नाराबाजी गरिरहेका थिए । अरू सांसदले वेल घेरेर नाराबाजी गरिरहँदा एमाले सांसद भीम रावल भने छलफल प्रक्रियामा सहभागी हुनुभएको थियो । उहाँले रोष्ट्रममै गएर आफ्नो धारणा राख्नुभएको थियो । रावलले एमसिसी पारित गर्नु नहुने बताउनुभएको थियो ।
संसदबाट अनुमोदन भएसँगै ५० करोड अमेरिकी डलरको अनुदान कार्यक्रम कार्यान्वयमा आउनेछ । एमसिसीबाट आएको पैसा नेपालका सडकको स्तरोन्नति र विद्युत प्रसारण लाइन बनाउन प्रयोग हुनेछ ।
