
खोटाङ, फागुन १६ । हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको अवधिमा ४३.४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्षका लागि नगरपालिकामा विनियोजित कुल बजेट ५८ करोड १६ लाख २८ हजार ४ सय ५० मध्ये अहिलेसम्म २५ करोड २९ लाख ५८ हजार ४ सय ४२ रुपैयाँ खर्च भएको हो ।
दुर्छिमस्थित होलेसुङ रिसोर्टमा सम्पन्न १० औं हिउँदे नगर सभामार्फत उक्त विषयको जानकारी दिइएको हो । नगरसभाबाट २० वटा योजनाहरू संशोधन गर्दै रकमान्तर गरिएको छ ।
चार ऐन पारित
यस्तै नगर सभाले चार वटा ऐन पारित गरेको छ । नगर सभामा पेश भएको वन व्यवस्था ऐन–२०७८, संस्था ऐन–२०७८, हलेसी तुवाचुङ नगरपालिकामा कार्यरत कर्माचारीहरूको समायोजन गर्न बनेको ऐन–२०७८ र स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन–२०७८ पारित भएको हो ।
सबै प्रस्ताव पारित
नगरपालिकाभित्रका स्वास्थ्य स्वयंसेविकाहरूले तलब भत्ता वृद्धि, स्वास्थ्य बिमा आदिका लागि मेयर र उपमेयरलाई संयुक्त रूपमा नगर सभामा प्रस्ताव पेश गरेका थिए । सोसहित नगर सभामा प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मतिले पारित भएको छ ।
२६ जना सम्मानित
नगर सभामा उत्कृष्ट कार्यसम्पदान गर्ने हलेसी तुवाचुङ नगरपालिकामा कार्यरत कर्मचारी, वडा कार्यलयका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलगायत २६ जनालाई सम्मान पत्रसहित खादा ओढाएर मेयर इवन राई र उपमयेर विमला राईले सम्मान गर्नुभएको छ ।
हलेसी तुवाचुङ हरेक क्षेत्रमा पहिलो : मेयर राई
नगर सभालाई सम्बोधन गर्दै नगरपालिकाका मेयर इवन राईले हलेसी तुवाचुङ नगरपालिका हरेक क्षेत्रमा पहिलो भएको बताउनुभयो । नगरपालिकाले विकासका हरेक आयोजनाहरूमा मितव्ययीता र पारदर्शिता अपनाएको मेयर राईको भनाइ थियो ।
दीर्घकालीन उद्देश्यसहितको गुरुयोजना तयार गरेर नगरपालिकामा कामहरू भइरहेकाले आउँदो पाँच वर्षपछि नगरपालिका पूर्ण रूपमा आत्मनिर्भर बन्ने राईले बताउनुभयो । ‘हलेसी तुवाचुङ अहिले आत्मनिर्भर बन्ने बाटोमा छ । अबको पाँच वर्षमा आत्मनिर्भर बनिसक्छ’, मेयर राईले भन्नुभयो, ‘संघीय र प्रदेश सरकारको अनुदान पनि आवश्यक नपर्न सक्छ ।’

विकासले फड्को मारेको छ : उपमेयर राई
नगर सभालाई सम्बोधन गर्दै उपमेयर विमला राईले नगरपालिकामा विकासले फड्को मारेको दाबी गर्नुभयो । ‘विकासले फड्को मारेको कुरा सबैलाई अवगत छ, मैले नगर सभामा भन्नुपर्छ जस्तो लाग्दैन’, उपमेयर राईले भन्नुभयो ।
आपसी सहकार्यलाई जारी राख्दै नगरपालिकालाई समृद्ध बनाउने दिशामा सधैँ अग्रसर रहने उहाँको प्रतिबद्धता थियो ।

