Thursday, April 16News That Matters

हलेसी तुवाचुङका मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

तालिम उद्घाटन गर्दै नगर उपप्रमुख विमला राई /तस्वीर : सयन्द्र राईको फेसबुक ।

खोटाङ, फागुन १९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मेलमिलापकर्ताहरूलाई पुनर्ताजगी तालिम प्रदान गर्न थालेको छ । ‘हाम्रो समस्या, हाम्रै समाधान : मेलमिलाप’ भन्ने नारासहित बिहिबारदेखि तीन दिने मेलमिलापकर्ता पुनर्ताजगी तालिम सुरु भएको हो । नगरपालिकाको आयोजना र मेडिएसन नेपालको सहजीकरणमा शुक्रबार र आइतबारसमेत सञ्चालन हुने तालिमको नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समिति संयोजक विमला राईले उद्घाटन गर्नुभएको हो ।

तालिममा सहभागी मेलमिलापकर्ता/तस्वीर : सयन्द्र राईको फेसबुक ।

स्थानीय स्तरमा उत्पन्न हुने सानातिना विवाद निरुपणमा मेलमिलापकर्ताको सहजताका लागि तालिमको आयोजना गरिएको नगरपालिकाको प्रशासन शाखाका कम्प्युटर अपरेटर सयन्द्र राईले जानकारी दिनुभयो । वडाहरूमा स्थापना गरिएका मेलमिलाप केन्द्रमा आउने उजुरी सकभर त्यहीँबाट समझदारी गराई निरुपण गर्न मेलमिलापकर्ताको क्षमता विकासका लागि तालिम महत्त्वपूर्ण रहने उहाँको भनाइ छ ।

तालिममा नगरपालिकाको ११ वटै वडाका मेलमिलाप केन्द्रबाट २७ जना मेलमिलापकर्ताहरू सहभागी छन् ।