Thursday, April 16News That Matters

खोटाङ : फागुन २२ भित्र निवदेन दिएर मतदाता नामावलीको त्रुटि सच्याउन सकिने

खोटाङ, फागुुन १९ । जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदाता नामावलीमा भएको त्रुटि सच्याउने प्रयोजनका लागि निवेदन माग गरेको छ । मतदाता नामावलीमा नाम दर्ता भई विवरणमा त्रुटि भएका मतदाताले निर्वाचन कार्यालयमा निवेदन दिएर सच्याउन निवेदन आह्वान गरिएको हो ।

नामावलीमा रहेका त्रुटि सच्याउन, झुटो विवरण दिई नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, एक भन्दा बढी स्थानमा नाम समावेश भएको भए एक ठउँको मात्र कायम गर्न र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन फागुन २० गतेदेखि २२ गतेसम्म निवेदन दिन सकिने कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता नामावली फागुन २० गते सम्बन्धित पालिकाको वडा कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा प्रकाशन गरिनेछ ।

त्रुटि सच्याउन निवेदन दिँदा जिल्ला निर्वाचन कार्यालयमा स्वयम् उपस्थित भएर वा जिल्ला निर्वाचनको इमेल deodiktel@gmail.com मा निर्वाचन आयोगले तोकेको ढाँचामा निवेदन दिनुपर्नेछ । निवेदनको ढाँचा सबै पालिकाको केन्द्र, जिल्ला निर्वाचन कार्यालयको फेसबुक र निर्वाचन आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिने कार्यालयले जनाएको छ ।

साथै कुनै कारणले मतदाता परिचयपत्र नष्ट भई वा हराइ पुनः बनाउनुपर्ने भए मतदाताले सम्बन्धित वडा कार्यालयको सिफारिससहित स्वयम् निर्वाचन कार्यालयमा उपस्थित भएर वा कार्यालयको इमेलमा फागुन २० गतेसम्म निवेदन दिन सकिनेछ । थप जानकारीको लागि कार्यालयको फोन नं. ०३६–४२०२८८ मा सम्पर्क गर्न कार्यालयले आग्रह गरेको छ ।