Thursday, April 16News That Matters

कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो, हलेसी तुवाचुङ दोस्रो

खोटाङ, फागुन २२ । खोटाङका स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कार्यसम्पादन मूल्यांकनमा सर्वाधिक ७५.१८ अंक ल्याएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा ६३.०७ अंक ल्याएर हलेसी तुवाचुङ नगरपालिकाले दोस्रो स्थान हासिल गरेको छ । यस्तै ६२.२० अंकसहित वराहपोखरी तेस्रो, ५८.३८ अंकसहित खोटेहाङ चौथो, ५७.०२ अंकसहित साकेला पाँचौँ, ५६.३६ अंकसहित रावाबेँसी छैटौँ, ५१.३४ अंकसहित जन्तेढुंगा सातौँ, ५१.२७ अंकसहित दिप्रुङ चुइचुम्मा आठौँ, ४९.७० अंकसहित ऐँसेलुखर्क नवौँ र ३७.५७ अंकसहित केपिलासगढी गाउँपालिका दशौँ स्थानमा परेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूचक मूल्यांकनबाट प्राप्त अंक र तथ्यांक फागुन १८ गते सार्वजनिक गरेको हो ।
आयोगले सार्वजनिक गरेको सूचक अनुसार संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांकसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेको हो ।

स्थानीय तहको कार्यसम्पादन मूल्यांकनका लागि विभिन्न १७ वटा सूचक तय गरिएको थियो । पालिकाले समयमै बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे/नगरेको, आउँदो आर्थिक वर्षको लागि आय व्ययको प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलगायतका विषयमा मूल्यांकन गरिएको हो ।

त्यस्तै आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे/नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसूति संख्यालगायत शीर्षकका सूचकको आधारमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो । यही मूल्यांकनका आधारमा आयोगले आर्थिक वर्ष २०७९/८० का लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस गर्नेछ ।

स्थानीय सरकारको कार्यसम्पदान मूल्यांकन विवरण