Thursday, April 16News That Matters

शारदा मावि हौँचुरमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना

अक्षयकोषको रकम हस्तान्तरण गर्दै पूर्व प्रअ राई ।

खोटाङ, चैत्र ०५ । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित शारदा माध्यमिक विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । विद्यालयका पूर्व प्रधानाध्यापक भद्रबहादुर राईले वार्षिक रूपमा गरिब तथा जेहेनदार ५ जना विद्यार्थीलाई पुरस्कृत गर्ने गरी अक्षयकोष स्थापना गर्नुभएको हो ।

शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच राईले विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु कार्की र प्रधानाध्यापक हर्कबहादुर कार्कीलाई अक्षयकोषका लागि १ लाख १ हजार १ सय रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ । अक्षयकोषको रकम बैंकमा जम्मा गरी त्यसबाट प्राप्त हुने ब्याजको रकमले प्रत्येक वर्ष विद्यालयका गरिब तथा जेहेन्दार एक जना छात्र र एक जना छात्रा तथा विद्यालय प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रलाई पुरस्कृत गरिनेछ ।

कार्यक्रममा प्रमुख अतिथि रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले विद्यालयलाई पूर्वाधार सम्पन्न बनाउन फर्निचरको व्यवस्था, शिक्षक दरबन्दी मिलान र भवन निर्माणमा सहयोग गर्दै आएको बताउनुभयो ।

यस्तै विशेष अतिथि हौँचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले शिक्षा विकासको मेरुदण्ड भएकाले त्यसको विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी विशेष अतिथि गाउँपालिकाका शिक्षा शाखा संयोजक तीर्थराज दाहालले शिक्षालाई प्रविधियुक्त बनाउन कामहरू भइरहेका र शैक्षिक क्षेत्रको सुधारका लागि १० वर्षे योजना निर्माण गरिएको बताउनुभयो । कोरोना महामारीका बेला शैक्षिक क्षेत्रमा परेको असर न्यूनीकरणका लागि वैकल्पिक सिकाइ विधि अपनाएर विद्यार्थीको सिकाइमा सहजीकरण गरिएको उहाँको भनाइ छ ।