Thursday, April 16News That Matters

प्रधानमन्त्री देउवाद्वारा साप्सुखोला मोटरेबल पक्की पुलको उद्घाटन

पुल उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा, फोटो : सन्तोश पौडेल

खोटाङ, चैत ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले साप्सुखोला मोटरेबल पक्की पुलको उद्घाटन गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडक खण्डको साप्सुखोलामा निर्माण गरिएको पक्की पुल प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको हो ।

पुल उद्घाटनका लागि प्रधानमन्त्री देउवा, खानेपानी मन्त्री उमाकान्त चौधरी र नेपाली कांग्रेसका सह–महामन्त्री भिष्मराज आङदेम्बे हेलीकप्टर मार्फत कार्यक्रम स्थल आउनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्रको हितमा रहेकाले संसदबाट पास गरिएको बताउनुभएको छ । एमसिसीको बिषयमा केहि व्यक्तिहरुले गलत प्रचार गरेपनि एमसिसी कुनै पनि हालतमा राष्ट्र हितको बिपरित नरहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

यस्तै, खानेपानी मन्त्री चौधरीले एमसिसी पास गरेसँगै अब देशले विद्युत उत्पादन बढाएर आयस्रोत बढाउने बताउनुभएको छ । नेपाल जलस्रोतको दोस्रो ठुलो देश भएको उल्लेख गर्दै जलस्रोतको सदुपयोग गरेर देशमा आर्थिक बृद्धि गर्न सकिने उहाँको धारण थियो । जसलाई अब एमसिसीले सघाउने मन्त्री चौधरीले बताउनुभयो ।

यस्तै, कांग्रेसका सह–महामन्त्री आङदेम्बेले बहुमत प्राप्त गरेका राजनितिक दलहरु अहिले छताछुल्ल पोखिएर इतिहासमा दुर्गधिन्त भएर रहेको बताउनुभएको छ । तर नेपाली कांग्रेसबाट जितेका जनप्रतिनिधिहरुले राम्रो काम गरिरहेको उहाँको भनाई छ ।

मूल्य अभिवृद्धि करसहित रु. ५ करोड ६० लाख १० हजार ५ सय ४५ रुपैँया मा निर्माण सम्पन्न भएको मोटरेबल पक्की पुल वि.सं. २०७६ असार ११ गते शिलान्यास गरिएको थियो । संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रु. दुई करोड बजेटमा निर्माण सम्पन्न भएको ४० मिटर लामो पक्की पुल सूर्य एन्ड सन्स प्रा.लि.ले निर्माण गरेको हो ।

निर्माण कम्पनीसँग वि.सं. २०७८ जेठ १७ गते निर्माणको काम सम्पन्न गर्ने गरी २०७६ जेठ १७ गते सम्झौता भएको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो सडक मार्गमा पर्ने साप्सुखोलामा निर्माण गरिएको पक्की पुल सञ्चालनमा यसअघि नै आइसेकेको छ । पुल सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुंगा र वराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई आवतजावतका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको छ ।