Friday, April 17News That Matters

खोटाङको एक विद्यालयमा पानी पिउदा तीन विद्यार्थी बिरामी

सांकेतिक तस्विर

खोटाङ, चैत १४ : खोटाङको एक विद्यालयमा पानीको कारण तीन जना विद्यार्थी बिरामी परेका छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा स्थीत दाम्ली माध्यमिक विद्यालयमा अध्यानरत तीन जना विद्यार्थी सोही विद्यालयमा पानी पिउने क्रममा बिरामी परेका हुन् ।

विद्यालय नजिकैको धाराबाट जारमा पानी ल्याएर राखिएको अवस्थामा पानी पिउदा ती विद्यार्थी बिरामी परेका डिकुवाका वडाध्यक्ष हरीकुमार खड्काले बताउनुभयो । जारमा राखिएको पानी अन्य विद्यार्थीले पिउदा केही नभएपनि अन्तिममा पानी पिउने तीन जना विद्यार्थी बिरामी परेका हुन् । पानी पिउदै गर्दा बिषाधीको गन्ध आएको विद्यार्थीले बताएका थिए । विद्यार्थी बिरामी परेपछि हेर्दा पानीमा मेटासीट जस्तो सेतो तरलपदार्थ भेटिएको खड्काको भनाइ छ ।

जारमा राखेको पानीमा कसैले बिषाधी मेसाइदिएको हुन सक्ने आशंका गरिएको छ । विद्यार्थी बिरामी परेपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई सहित च्यास्मीटर प्रहरी चौकीको प्रहरी टोली विद्यालय पुगेको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको छ ।

बिरामी परेका दुई जना विद्यार्थीको घुर्मी अस्पताल र एक जनाको ओखलढुंगा स्थित मिसन अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष खड्काले बताउनुभयो । विद्यार्थीको अवस्था सुधार भइरहेको पनि उहाँको भनाइ छ ।