खोटाङ, चैत २८ । खोटाङ कोरोना भाइरस (कोभिड–१९) मुक्त जिल्ला बनेको छ । पछिल्लोपटक संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका दुई जना आइतबार निको भएसँगै जिल्ला तत्कालका लागि संक्रमणमुक्त बनेको हो । आइतबार २५ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि संक्रमण नेदेखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।
कोरोनमा महामारी सुरु भएयता जिल्लामा ३ हजार ५ सय २ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये ३ हजार ४ सय ५८ जना निको भएका स्वास्थ्य कार्यालयको तथ्यांक छ । पहिलो र दोस्रो लहरमा गरी संक्रमणबाट १५ जनाको ज्यान जाँदा तेस्रो लहरमा भने मृत्यु हुनेको संख्या शून्य रह्यो । जिल्लामा हालसम्म १ लाख ७ हजार ४२ जनाले पूर्ण र १ लाख २१ हजार ४ सय ३० जनाले पहिलो मात्रा खोप लगाएका छन् ।
जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पतालसहित ७ अस्पतालमा २३४ बेड उपलब्ध छ । यस्तै १ थान भेन्टिलेटर, ७ वटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
तत्कालका लागि जिल्ला संक्रमणमुक्त भए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न कार्यालयको आग्रह छ ।
