
खोटाङ, चैत २८ । नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङले ‘स्थानीय तहको निर्वाचनमा पत्रकारको भूमिका’ विषयमा अन्तरक्रिया गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित नवकिरण सेवा समाजको हलमा बसेको युनियनको तेस्रो विस्तारित बैठकमा प्रेस युनियन आबद्ध जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरूबीच निर्वाचन केन्द्रित छलफल भएको हो ।
निर्वाचनको समयमा पत्रकार तथा सञ्चारकर्मीले समाचार लेखन, प्रकाशन तथा प्रसारण गर्दा ध्यान दिनुपर्ने विषयमा बैठकमा वृहत छलफल भएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार कृष्ण आचार्य, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दीलिप खत्री र नेपाल प्रस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाईंले पत्रकार तथा सञ्चारकर्मीले आफ्नो पेशागत मर्यादा सधैँ ख्याल राख्नुपर्नेमा जोड दिनुभयो । पत्रकार आम नागरिकको विश्वासपात्र भएकाले सोही अनुसार काम गर्नुपर्ने उहाँहरूको भनाइ थियो ।
समाजमा भ्रम सिर्जना गरी द्वन्द्वको अवस्था ल्याउने खालका गलत समाचार कतिपयबाट सम्प्रेषण भइरहेको बताउँदै उहाँहरूले पत्रकारिताको नाममा त्यस्ता गलत कार्य गर्ने छुट कसैलाई नरहेको स्पष्ट पार्नुभयो । पत्रकार आचारसंहिता विपरीत कार्य गर्नेलाई कानुनमै सजाय हुने व्यवस्था रहेकाले त्यसतर्फ सधैँ सजग रहनुपर्नेमा उहाँहरूको जोड थियो । आसन्न स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले तोकेको आचारसंहिताभित्र रहेर समाचार लेखन, प्रकाशन तथा प्रसारण गरी सभ्य पत्रकार तथा सञ्चारकर्मीको भूमिका निर्वाह गर्न उहाँहरूले आग्रह गर्नुभयो ।
युनियनको विस्तारित बैठकले पत्रकारितामा क्रियाशील पाँच जनालाई जिल्ला कार्य समितिको सदस्यमा मनोनयन, युनियन जिल्ला समितिको कार्यालय दिक्तेलस्थित बेसक्याम्पमा स्थापना गर्नेलगायत महत्त्वपूर्ण निर्णय गरेको छ ।
