Thursday, April 16News That Matters

खोटाङ : छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्राविधिक शिक्षालयका प्रिन्सिपल पक्राउ

फाइल तस्वीर

खोटाङ, चैत २९ । खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल ईन्द्रप्रसाद आचार्य पक्राउ परेका हुन् ।

त्यहाँ अध्ययनरत छात्राहरूले आफूहरूलाई पटकपटक यौनजन्य हिंसा गर्दै आएको र मंगलबार पनि दुई जना छात्राहरूबाट आफूहरूमाथि यौनजन्य हिंसा गरेको भन्ने गुनासो आएपछि नेकपा एमाले र नेकपा माओवादी निकट विद्यार्थीहरूले प्रिन्सिपल आचार्यलाई शिक्षालयमै गएर कालो मोसो दलेका थिए । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन संग्रामले कालो मोसो दलेपछि सोही स्थानमा बोलाएर आचार्यलाई प्रहरीको  जिम्मा लगाइएको बताउनुभयो ।

एमाले निकट अनेरास्ववियुका तर्फबाट अध्यक्ष संग्राम र माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) की जिल्ला सदस्य रमिला बाँस्तोलाले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर आचार्यलाई हदैसम्मको कारबाहीको माग गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले पनि प्रिन्सिपल आचार्य पक्राउ परेको पुष्टि गर्नुभयो । उनलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलमा लगेर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।