खोटाङ, वैशाख १ । खोटाङमा कृषि गणनाको लागि ६२ जना गणक र १७ जना सुपरीवेक्षक खटिने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोहीअनुसार यस वर्ष देशभरमा सातौँ कृषि गणना हुन लागेको हो ।
गणनाका लागि खोटाङमा गणक र सुपरीवेक्षक गरी जम्मा ७९ जना स्थलगत कर्मचारी खटाइने कृषि गणना कार्यालय खोटाङका अधिकृत जितबहादुर कोइरालाले जानकारी दिनुभयो । गणनामा खटिने कर्मचारीका लागि दिक्तेलमा चैत २५ गतेदेखि तालिम सञ्चालन भइरहेको छ । तालिम वैशाख ३ गतेसम्म जारी रहनेछ ।
कोइरालाका अनुसार कृषि गणना कार्य वैशाख ६ देखि जेठ १९ गतेसम्म हुनेछ । ४५ दिनमा दुई चरणमा गणना हुनेछ । पहिलो चरणमा सूचीकरण हुनेछ भने दोस्रो चरणमा मुख्य प्रश्नावली भरिने छ ।
कृषि गणनाका लागि जिल्लाका १० वटै पालिकाहरूका ७९ वडामध्ये ७४ वडाका १८१ वटा क्षेत्र छानिएका छन् । छानिएका गणना क्षेत्रबाट २० देखि ३० जना कृषकहरूको विस्तृत विवरण लिइनेछ ।
गणनामा कृषक परिवार, जग्गाको उपभोग र उपयोग, कित्ताको विवरण, सिँचित जग्गाको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, तेलबाली, नगदेबाली, मसलाबाली, तरकारी बाली र फलफूल लगाएको जग्गाको क्षेत्रफल, प्रमुख बालीको उत्पादन, बीउबिजन, विषादी र मलखादको प्रयोग लगायतको विवरण सङ्कलन हुने जनाइएको छ ।
जातअनुसार पाल्तु पशुपक्षीको सङ्ख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचनाको अवस्था, कृषि औजार, माछापालन, मौरीपालन, च्याउ खेती, पुष्प खेती, कृषिमा ऋण, बीमा, अनुदान, कामदार, महिलाको नाममा रहेको जग्गा र खाद्यान्नको पर्याप्तताका बारेमा पनि जानकारी सङ्कलन हुनेछ ।
जिल्लामा कृषि गनणाका लागि दिक्तेलमा चैत १ गते कृषि गणना कार्यालय स्थापना गरिएको छ । उक्त कार्यालयको कार्यअवधि २०७९ जेठ मसान्तसम्म रहनेछ ।
