
खोटाङ, वैशाख ३ । इलाका प्रहरी कार्यालय हलेसीमा प्रहरी प्रमुखको रूपमा कार्यरत प्रहरी निरीक्षक प्रमोद कार्की फागुन महिनाको उत्कृष्ट प्रहरी बन्नुभएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले प्रहरी निरीक्षक कार्कीले अपराध अनुसन्धानमा पुर्याउनुभएको योगदानको कदर गर्दै उत्कृष्ट प्रहरी घोषित गरेको हो । विभागिय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेकाले उहाँलाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताउनुभयो ।
प्रहरी निरीक्षक कार्कीले फागुन २३ गते हलेसी तुवाचुङ नगरपालिका–५ बतासेघाटमा ३२ किलो ४८५ ग्राम गाँजा कारोबारमा संलग्नलाई पक्राउ गरी लागुऔषध नियन्त्रण्मा महत्त्वपूर्ण भूमिका खेलेको, प्रहरी साझेदारी कार्यक्रममार्फत बालबालिका विरुद्ध हुने अपराध, महिला हिंसा, ट्राफिक नियम उल्लंघन लगायत समाजमा हुने विभिन्न गैरकानुनी र आपराधिक गतिविधि नियन्त्रणमा योगदान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै विभिन्न सरोकारवाला निकायसँग समन्वय गरी सम्भावित आपराधिक गतिविधि रोकथामका लागि भरपर्दो सुरक्षा व्यवस्था गरेको, आफ्नो मातहतमा कार्यरत प्रहरीलाई प्रहरी आचारण तथा अनुशासनमा राखेको उहाँको सम्मानमा तयार पारिएको फ्लेक्स प्रिन्टमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालयले जिल्लाभरिका प्रहरी कर्मचारीमध्ये कार्य सम्पादनका आधारमा हरेक महिना एक जनालाई उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ । उत्कृष्ट घोषित प्रहरीलाई सम्मानस्वरूप कार्यालयले कार्य विवरणसहितको फ्लेक्स प्रिन्ट प्रदान गर्ने गरेको छ ।

