खोटाङ, वैशाख ७ – जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनामा ट्राफिक निमय उल्लङ्घन गर्ने ५ हजार ४ सय १ वटा सवारी साधनलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को सुरुवाती महिना साउनदेखि चैत मसान्तसम्मको अवधिमा नियमविपरीत सञ्चालन भएका ती सवारी साधनलाई कारबाही गरेको हो । नियम पालना नगर्ने ती सवारी साधनलाई तिराइएको जरिवानाबाट यस अवधिमा ३९ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दलबहादुर खत्रीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार यस अवधिमा सबैभन्दा बढी मङ्सिरमा ९ सय ४५ र सबैभन्दा कम साउनमा ४ सय १३ वटा सवारी साधन कारबाहीमा परेका छन् । साउनमा ४ सय १३ सवारी कारबाहीबाट २ लाख ६३ हजार, भदौमा ५ सय ८७ सवारी कारबाहीबाट ४ लाख ४४ हजार, असोजमा ५ सय ५० सवारी कारबाहीबाट ४ लाख ७ हजार, कात्तिकमा ९ सय ५ सवारी कारबाहीबाट ६ लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै मङ्सिरमा ९ सय ४५ सवारी कारबाहीबाट ७ लाख १० हजार ५ सय, पुसमा ५ सय सवारी कारबाहीबाट ३ लाख ७८ हजार, माघमा ४ सय ५० सवारी कारबाहीबाट ३ लाख ७९ हजार ५ सय, फागुनमा ५ सय सवारी कारबाहीबाट ३ लाख ६३ हजार र चैतमा ४ सय ५० सवारी कारबाहीबाट ३ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ ।
यस अवधिमा कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल २ हजार ५ सय २५ वटा छन् । यस्तै कार, जीप र भ्यान गरी १ हजार ६ सय ५३, ट्रक ५ सय ४९, ट्याक्टर ४ सय ५४, बस ८६, अटो–टेम्पो ८२, टिप्पर ४७ र अन्य ५ वटा सवारी साधन कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका, साथमा कागजात नबोकेका, मादक पदार्थ सेवन, स्वरूप परिवर्तन, ओभरस्पीड र ओभरलोड गरी चलाइएका, हेल्मेट, सिटबेल्ट र चालक पोशाक प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।
१९ दुर्घटनामा ५ को मृत्यु, २३ घाइते
यस्तै जिल्लामा नौ महिनाको अवधिमा १९ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५ जनाको मृत्यु हुँदा २३ जना घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ । अधिकांश सवारी साधन ट्राफिक नियमविपरीत चलाउँदा दुर्घटनामा परेको पाइएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज खत्रीले बताउनुभयो । सवारी नियम उल्लङ्घनमा कमी ल्याई दुर्घटना हुनबाट जोगाउन दैनिक एक जना चालकसँग सवारी साधन गुडिरहेकै स्थानमा रोकेर ट्राफिक नियम, यसको महत्त्व र पालना नदर्गाको सम्भावित जोखिमको विषयमा अन्तरक्रिया गर्ने गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
