Thursday, April 16News That Matters

खोटाङ : कुन स्थानीय तहमा कुन राजनीतिक दलको अवस्था कस्तो ? २०७४ को मत परिणाम सहित हेर्नुहोस्


राजकुमार भट्टराई (सरगम)

खोटाङ, बैशाख ७ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले यतिबेला सबैको ध्यान तानेको छ । निर्वाचनमा भाग लिएका राजनीतिक दलहरु उम्मेद्वार छनोटमा व्यस्त छन भने कुन राजनीतिक दलको उम्मेद्वार कस्ता आउनेहुन भन्ने मतदाताको चासो बिषय बनेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति जुटेको छ । निर्वाचनमा गठनबन्धनलाई कायम राख्न सहमत भएका दलहरू अन्ततः चुनावमा तालमेल गर्न तयार भएका हुन् । यता प्रमुख प्रतिपक्षी दल एमालेले पनि केन्द्रमा अन्य राजनीतिक दलहरुसँग तालमेल गर्ने निर्णय गरेपनि खोटाङमा ती राजनीतिक दलको प्रभाव भने देखिदैन ।

दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा ४ पालिकामा कांग्रेसबाहेकको गठबन्धन बन्ने भएको छ । हलेसी तुवाचुुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित कांग्रेस एक्लै लड्दा अरू तीन दलले एकअर्कालाई सहयोग गर्ने सहमति भएको हो । हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माओवादीका प्रमुख र उपप्रमुखका उम्मेद्वारलाई एकीकृत समाजवादी र जसपाले सहयोग गर्दा साकेला गाउँपालिकामा माओवादीका अध्यक्ष र जसपाका उपाध्यक्ष, केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीका अध्यक्ष र जसपाका उपाध्यक्षलाई एकअर्काले सहयोग गर्नेछन् । त्यसोत यी चार पालिकामा तीन पार्टी बिच तालमेल हुँदा नेपाली कांगेस र नेकपा एमाले एक्ला एक्लै लड्नेछन् ।

बाँकी ६ पालिकामा चार दलीय गठबन्धन बनेको छ, जहाँ एमालेले एक्लै लड्नेछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेँसी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र माओवादीलाई उपप्रमुख, वराहपोखरी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र एकीकृत समाजवादीलाई उपप्रमुख, ऐँसेलुखर्क, जन्तेढुंगा र खोटेहाङ गाउँपालिकामा माओवादीलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख पदको उम्मेद्वार दिने गठबन्धन दलले सहमति गरेका छन् । तर जिल्लाका सबै स्थानीय तहमा उम्मेद्वार भने टुंगिएको छैन ।

आसन्न स्थानीय तहको निर्वाचन कस्तो होल त ? कुन पालिका कसले जित्ला यो सबैको चासोको बिषय हो भन्दा फरक नपर्ला । त्यसोत अघिल्लो अर्थात वि.स. २०७४ सालमा भएको निर्वाचनमा भने जिल्लामा एमाले पहिलो दल बनेको थियो । उसले ५ स्थानीय तह प्रमुख र ७ उप–प्रमुखसँगै ३७ वडामा जितेको थियो । ४ स्थानीय तह प्रमुख र ३ उप–प्रमुखसँगै २७ वडामा कांग्रेसले जितेको थियो । यस्तै माओवादी केन्द्रले १ पालिका प्रमुखसँगै १२ वडामा जीत हात पार्दा २ वडामा तत्कालीन संघीय समाजवादी (हाल जसपा) र १ वडामा राप्रपाले जितेका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी गरपालिका

जिल्लाको सदरमुकाम समेत रहेको एवं सबै भन्दा धेरै मतदाता भएको यस नगरपालिकामा वि.स. २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेले प्रमुख उप–उपप्रमुख दुवै जितेको थियो । प्रमुखमा एमालेबाट दीप नारायण रिजालले ५ हजार ३ सय ४३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका राजनशेर राईले ४ हजार ७ सय १८ मत पाएर दोस्रो र माओवादी केन्द्रबाट दुर्गा जयन्ती राईले ४ हजार ४ सय ३४ मत प्राप्त गर्दै तेस्रो हुनुभएको थियो । यस्तै तत्कालीन संघीय समाजवादी (हाल जसपा)का धनकुमार राईले ७ सय ३० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायण राईले ५ सय ६ मत प्राप्त गर्नुभएको थियो ।

आसन्न स्थानीय तहको चुनावमा भने यस नगरपालिकामा कांग्रेस, माओवादी, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धन गर्ने निर्णय गरिसकेका छन् । त्यसोत एमालेबाट फुटेर निर्माण भएको एकिकृत समाजवादीले एमालेको केही मत काट्ने र अन्य पार्टीले आफ्नो पुरानो मत मात्रै जोगाउने हो भनेपनि एमालेलाई यस नगरपालिकामा पुनः जित निकाल्न निकै कठिन छ । सोझो तरिकाले हेर्दा यस नगरपालिकामा एमालेको भन्दा गठबन्धनको डबल मत रहेको प्रष्ट छ । तर मतदाताले पार्टी भन्दा पनि स्थानीय तहमा उम्मेद्वार हेरेर मत हाल्ने गरेको हुँदा मतपरिणाम बारे यसै भन्न सकिन्न । १५ वटा वडा रहेकोमा ६ वटा वडामा एमाले, ३ वटा वडामा माओवादी, ३ वटा वडामा कांग्रेस, २ वटामा संघीय समाजवादी (जसपा) र १ वडामा राप्रपाका उम्मेद्वार विजयी भएका थिए । यस नगरपालिकामा अघिल्लो निर्वाचनमा २६ हजार २ सय ८३ मतदाता थिए भने अहिले बढेर ३४ हजार ७८ मतदाता पुगेको छ ।

हलेसी तुवाचुङ नगरपालिका

मतदाताको हिसाबले जिल्लाको दोस्रो स्थानीय तह यस नगरपालिका नेपाली कांग्रेसले आफ्नो पकट क्षेत्र मान्दै आएको छ । अघिल्लो निर्वाचनलाई हेर्ने हो भने पनि सोही देखिन्छ । ११ वटा वडा रहेको यस नगरपालिकामा कांग्रेस ७ वटा वडामा, एमाले ३ वडामा र माओवादी १ वडामा विजयी हुँदा नगरपालिका प्रमुख र उप–प्रमुख दुवै कांग्रेसले जितेको थियो ।
नेपाली कांग्रेसका उम्मेद्वार इवन राईले ४ हजार ३ सय ९७ मत प्राप्त गर्दै विजयी हुँदा, नेकपा एमालेका खडेन्द्र राईले ३ हजार ९सय ९९ मत पाएर दोस्रो, माओवादी केन्द्रका हरी गिरी १ हजार ६ सय ८६ मत पाएर तेस्रो र तत्कालीन संघीय समाजवादी (हाल जसपा) का बच्चु राईले २ सय ४९ मत प्राप्त गर्नु भएको थियो । यस नगरपालिकामा भने आसन्न स्थानीय निर्वाचनमा कांग्रेसले गठबन्धन गरेको छैन । कांग्रेस र एमाले एक्ला एक्लै चुनावी मैदानमा उत्रिदा माओवादी, एस र जसपा बिच गठबन्धन हुने सहमती भएको छ । एमालेबाट फुटेको एसले एमालेकै भोट काट्ने निश्चित हुँदा कांग्रेसलाई फाइदा हुने नेताहरु बताउछन । अघिल्लो निर्वाचनलाई हेर्दा प्रमुख प्रतिस्पर्दा यस नगरपालिकामा कांग्रेस र एमालेकै हुने देखिन्छ । हलेसी तुवाचुङ नगरपालिकामा अघिल्लो निर्वाचनमा १६ हजार ४ सय ९० मतदाता रहेकोमा अहिले बढेर २० हजार ९ सय २१ पुगेको छ ।

ऐसेलुखर्क गाउँपालिका

अघिल्लो निर्वाचनमा यस गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको थियो । ७ वटा वडा रहेकोमा एमाले ३ वडामा र कांग्रेस र माओवादी २÷२ वडामा विजयी भएका थिए । तीन वडा जितेपनि एमाले गाउँपालिका प्रमुख भने जित्न सकेको थिएन । अध्यक्षमा कांग्रेसबाट विश्वनाथ निरौला २ हजार १ सय ३१ मत ल्याएर विजयी हुँदा एमालेबाट गृह बहादुर राई १ हजार ७ सय ३५ मत ल्याएर दोस्रो, माओवादीबाट श्री बहादुर राई १ हजार ३ सय ९६ मत ल्याएर तेसा्रे हुँदा तत्कालीन नयाँ शक्ति (हाल जसपा) का अगम सिं राईले ७८ मत प्राप्त गर्नुभएको थियो ।
यस गाउँपालिकामा पनि चार दलले गठबन्धन गर्ने निर्णय गरेसँगै अघिल्लो मत परिणाम हेर्दा एमालेलाई जित्न कठीननै देखिन्छ । कांग्रेसले जितेको पालिका माओवादीको भागमा परेको भन्दै कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट छन् । यसको फाइदा एमालेले उठाउन सक्छ । तर एक ठिक्का भएर लाग्ने हो भने गठबन्धनका उम्मेद्वार विजयी हुने नेताहरु बताउछन । ऐसेलुखर्क गाउँपालिकामा अघिल्लो निर्वाचनमा ९ हजार ३ सय ५२ तमदाता हुँदा अहिले बढेर ११ हजार ४ सय ९५ पुगेको छ ।

केपिलासगढी गाउँपालिका
अघिल्लो निर्वाचनमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवैमा जित निकालेको यस पालिकामा यो पटक भने निर्वाचन रोमाञ्चक हुने भएको छ । एमालेबाट फुटेर निर्माण भएको एकिकृत समाजवादी पार्टीका पोलिटप्युरो सदस्य एवं प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री राजन राईको घर पनि सोही गाउँपालिका हो । एमालेलाई फुटको असर जिल्लाको सबै भन्दा धेरै सोही गाउँपालिकामा परेको नेताहरु बताउछन । त्यसोत एमालेको धेरै भोट एसले काट्ने निश्चित नै छ । तर केपिलासगढीमा कांग्रेस गठबन्धनमा सामेल छैन । त्यसैलेपनि यस पालिकाको निर्वाचन जिल्लाकै रोमाञ्चक हुने छ । किनभने अघिल्लो चुनावमा दोस्रो भएको कांग्रेस एक्लै चुनावमा उत्रितैछ भने अघिल्लो चुनवामा जितेको तर अहिले फुटेको एमाले पनि एक्लै चुनावमा हुनेछ । यता जिल्लाकै सबै भन्दा धेरै आफ्नो मतदाता रहको स्थानीय तह मान्ने एस र जसपा पार्टी र साथमा माओवादी बिच गठबन्धन हुँदा कुन बलियो र कुन कमजोर भन्न सकिने ठाउँ छैन ।
अघिल्लो निर्वाचनमा एमालेका कृष्णकुमार राई १ हजार ८ सय ६ मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका समिर राई १ हजार १ सय ५१ मत ल्याएर दोस्रो, तत्कालीन संघीय समाजवादी (हाल जसपा)का पुर्णराज राई ६ सय १३ मत ल्याएर तेस्रो हुँदा माओवादीबाट मन कुमारी रसाइली ५ सय ८४ मत प्राप्त गर्दै चौथो हुनुभएको थियो । ७ वडा रहेकोमा ४ वडामा एमाले, २ वडामा कांग्रेस र १ वडामा माओवादी विजयी भएको थियो । केपिलासगढी गाउँपालिकामा अघिल्लो निर्वाचनमा ८ हजार ७ सय २२ मतदाता रहेकोमा अहिले बढेर १० हजार ८ सय ३८ पुगेको छ ।

खोटेहाङ गाउँपालिका
नेकपा एमालेका पोलिटप्युरो सदस्य एवं संसदिय दलका प्रमुख सचेतक विशाल भट्टराईको घर रहेको यस गाउँपालिका जिल्लामा एमालेको सबै भन्दा बलियो अर्थात पकट क्षेत्र हो । अघिल्लो निर्वाचनमा यस गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवैमा एमाले विजयी भएको थियो । ९ वटा वडा रहेकोमा ६ वडामा एमाले विजयी हुँदा माओवादी २ र कांग्रेस १ वडामा मात्र विजयी भएका थिए ।
गाउँपालिका अध्यक्षमा एमालेका प्रदिप राई ३ हजार १ सय २७ मत प्राप्त गर्दै विजयी हुँदा माओवादीका राजन प्रसाद ढकाल २ हजार ६ सय ८२ मत ल्याएर दोस्रो, कांग्रेसका प्रेम कुमार राई ९ सय ६३ मत ल्याएर तेस्रो हुनुभएको थियो । एमालेलाई फुटले केही मत काटिएपनि तत्कालीन समयमा माओवादीबाट उम्मेद्वार बनेका केही नेता एमालेमा प्रवेश गरेको हुँदा एमालेको पहिलेकै अवस्थाको मतदाता रहेको नेताहरु बताउछन । यता माओवादीका मतदाता पहिलेको तुलानामा केही घटेको र कांग्रेस पनि उक्त पालिकामा केही कमजोर देखिएको कारण गठबन्धनलाई खोटेहाङ गाउँपालिका जित्न भने निकै मेहनत गर्नु पर्ने नेताहरु बताउछन । खोटेहाङ गाउँपालिकामा अघिल्लो निर्वाचनमा १२ हजार ४ सय ११ मतदाता रहेकोमा अहिले बढेर १५ हजार २ सय ४५ पुगेको छ ।

जन्तेढुंगा गाउँपालिका

एमालेले आफ्नो पकट क्षेत्र मान्ने अर्को स्थानीय तह जन्तेढुंगा गाउँपालिका हो । जहाँ अघिल्लो स्थानीय तहको चुनावमा अध्यक्ष उपाध्यक्ष दुवै एमालले जितेको थियो । ६ वटा वडा रहेकोमा ४ वडामा एमाले विजयी हुँदा १÷१ वडामा मात्र कांग्रेस र माओवादी विजयी भएका थिए ।
गाउँपालिका अध्यक्षमा शंखर बहादुर राई २ हजार १ सय ५३ मात प्राप्त गरेर विजयी हुँदा कांग्रेसका प्रेम बहादुर खड्का १ हजार ५ सय ६२ मत पाएर दोस्रो हुनुभएको थियो । यस्तै माओवादीकी अरुणा देवी राईले १ हजार १ सय ४७ मत पाउदा तत्कालीन संघीय समाजवादी (हाल जसपा) का देवेन्द्र श्रेष्ठले ७४ मत पाउनु भएको थियो । अघिल्लो निर्वाचनको आधारमा भन्ने हो भने आफ्नो मतलाई जोघाउन सके गठबन्धनले जित निकाल्न सक्ने नेताहरु बताउछन । जन्तेढुंगा गाउँपालिकामा अघिल्लो निर्वाचनमा ८ हजार ३ सय ५६ मतदाता रहेकोमा अहिले बढेर १० हजार २ सय १३ पुगेको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका
हलेसी तुवाचुङ नगरपालिकासँगै नेपाली कांग्रेसले जिल्लाको अर्को पकट क्षेत्र मान्ने स्थानीय तह दिप्रुङ चुइचुम्मा गाउँपालिका हो । अघिल्लो निर्वाचनमा कांग्रेसका भुपेन्द्र राई भारी मतान्तरले विजयी हुनुभएको थियो । राईले २ हजार ९ सय ८० मत प्राप्त गरेर विजयी हुँदा एमालेका अर्जुन कुमार क्षेत्री १ हजार ८ सय ४८ मत प्राप्त गर्दै दोस्रो र माओवादीका दिपक पाण्डे १ हजार ७ सय १५ मत पाएर तेस्रो हुनुभएको थियो । यस्तै तत्कालीन संघीय समाजवादी (हाल जसपा) का पृथ्वी कुमार राईले ८९ मत पाउनु भएको थियो । ७ वटा वडा रहेको यस पालिकामा ४ वडामा कांग्रेस र ३ वडामा एमाले विजयी भएको थियो भने गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसलेनै विजयी हासिल गरेको थियो ।
आसन्न स्थानीय तहको चुनावमा कांग्रेस र एमाले यस पालिकामा एक्ला एक्लै चुनावी मैदानमा उत्रिदा अन्य तीन दलले भने तालमेल गर्नेछन । यद्यपी अघिल्लो निर्वाचनको मत परिणामलाई हेर्दा कांग्रेस नै बलियो देखिन्छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अघिल्लो निर्वाचनमा ११ हजार ६ सय ५५ मतदाता रहेकोमा अहिले बढेर १३ हजार ४ सय ३१ पुगेको छ ।

बराहपोखरी गाउँपालिका
अघिल्लो निर्वाचनमा यस गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको थियो । ६ वटा वडा रहेकोमा ४ मा एमाले र २ वडामा कांग्रेस विजयी भएका थिए । अध्यक्षमा कांग्रेसका शालिकराम बन्जरा १ हजार ९ सय ७१ मत प्राप्त गरेर विजयी हुँदा एमालेका गणेस प्रसाद कोइराला १ हजार ७ सय ३२ मत पाएर दोस्रो हुनुभएको थियो । यस्तै माओवादीका निशना राईले ८ सय ६१ मत र तत्कालीन संघीय समाजवादी (हाल जसपा)का मोहन प्रसाद राईले २ सय २८ मत प्राप्त गर्नुभएको थियो । त्यसोत चार दल बिच नै यस पालिकामा गठबन्धन हुँदा एमालेलाई जित्न कठिन देखिन्छ । वराहपोखरी गाउँपालिकामा अघिल्लो निर्वाचनमा ७ हजार ७ सय ३७ मतदाता थिए भने अहिले बढेर ९ हजार ३ सय ६४ पुगेका छन् ।

रावाबेसी गाउँपालिका
अघिल्लो निर्वाचनमा यस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको थियो । ६ वटा वडा रहेको यस पालिकामा ३ वडामा कांग्रेस, २ वडामा एमाले र १ वडामा माओवादी विजयी भएको थियो । गाउँपालिका अध्यक्षमा एमालेका लिलानाथ निरौला १ हजार ९ सय ९ मत ल्याएर विजयी हुँदा कांग्रेसका जनक कुमार कार्की १ हजार ५ सय ७५ मत पाएर दोस्रो र माओवादीबाट चेत कुमारी गुरुङ ९ सय ५९ पाउदै तेस्रो हुनुभएको थियो । यस्तै राप्रपाका गिरिराज सिंह बस्नेतले १ सय १४ मत पाउदा तत्कालीन नयाँ शक्ति (हाल जसपा)का मोहन कुमार गुरुङले ५४ मत पाउनु भएको थियो ।
आसन्न चुनावमा रावाबेसीमा पनि चार दलले गठबन्ध गर्ने निर्णय गरेको छ । एमालेबाट फुटेर निर्माण भएको एस र जसपा पार्टीको उक्त गाउँपालिकामा धेरै प्रभाव नभएको हुँदा गठबन्धन र एमाले बिचको चुनाव प्रतिस्पर्धात्मक हुने नेताहरु बताउछन । तर अघिल्लो निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने एमाले भन्दा गठबन्धन अब्बल देखिन्छ । रावाबेँसी गाउँपालिकामा अघिल्लो निर्वाचनमा ७ हजार ९ सय ८२ मतदाता थिए भने अहिले बढेर ९ हजार ६ सय १८ पुगेका छन् ।

साकेला गाउँपालिका
अघिल्लो निर्वाचनको मत परिणाम अनुसार साकेला गाउँपालिकामा माओवादी, कांग्रेस र एमाले बिच निकै कडा प्रतिस्पर्धा भएको देखिन्छ । गाउँपालिका अध्यक्षमा माओवादीबाट अध्यक्ष अर्जुन कुमार खड्काले १ हजार २० मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका इच्छु राना र एमालेका आश्विन चन्द्र राई झिनो मतान्तरले पराजित हुनुभएको थियो । रानाले ९ सय ८५ र राईले ९ सय ५१ मत पाउनु भएको थियो भने उपाध्यक्षमा कांग्रेस विजयी भएको थियो । यस्तै साकेला गाउँपालिकामा नेकपा मालेका कुल प्रसाद फुयलले ४ सय ३५ र तत्कालीन संघीय समाजवादी (हाल जसपा)का सन बहादुर राईले ४ सय २६ मत प्राप्त गर्नुभएको थियो ।
साकेला गाउँपालिकामा कांग्रेस र एमाले एक्ला एक्लै चुनाव लड्दा अन्य तीन पार्टीको भने तालमेल हुनेछ । तत्कालीन मालेबाट उम्मेद्वार बन्नु भएका फुयल अहिले एमालेबाट फुटेर बनेको पार्टी एसमा हुनुहुन्छ । त्यसोत अघिल्लो मत परिणाम अनुसार कांग्रेस र एमाले भन्दा तीन दलीय गठबन्धन बलियो देखिन्छ । ५ वडा रहेको साकेलामा एमाले र कांग्रेसले २/२ वडामा जीत हात पार्दा माओवादीले १ वडामा जितेको थियो । साकेला गाउँपालिकामा अघिल्लो निर्वाचनमा ६ हजार ६ सय ५४ मतदाता रहँदा अहिले बढेर ८ हजार ५ सय ४८ पुगेको छ ।