Thursday, April 16News That Matters

आचारसंहिता उल्लंघन हुँदैन भन्नेमा विश्वस्त छु : निर्वाचन अधिकृत ढुंगेल

हलेसी तुवाचुङ नगरपालिकाकी निर्वाचन अधिकृत संगीता न्यौपाने ढुंगेल

खोटाङ, वैशाख ८ । हलेसी तुवाचुङ नगरपालिकाकी निर्वाचन अधिकृत एवं जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता संगीता न्यौपाने ढुंगेलले आसन्न स्थानीय तहको निर्वाचनमा निर्वाचन आचारसंहिता पूर्ण पालना हुने विश्वास व्यक्त गर्नुभएको छ । नगरपालिकाको दुर्छिमस्थित नगर प्रहरीको भवनमा बिहिबार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि रुपाकोटखबरसँग कुराकानी गर्दै उहाँले कसैले पनि निर्वाचन आचारसंहिता उल्लंघन नगर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

नगरपालिकाको स्थानीय तह आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहनुभएकी ढुंगेलले भन्नुभयो, ‘इमानदारिता र अनुशासन भनेको आफूलाई नै स्वच्छ, निश्पक्ष र विश्वसनीय बनाउने आधारशिला पनि हो । त्यसैले प्रत्येक राजनीतिक दल, उम्मेद्वार, मतदाता र सम्बद्ध सबै पक्षले आचारसंहिता उल्लंघन गर्दैनन् भन्ने विश्वास लिएकी छु ।’ कहीँकतै आचारसंहिता उल्लंघन भएको पाइए फोन सम्पर्क वा सामाजिक सञ्जालमार्फत उजुरी दिन सकिने उहाँले बताउनुभयो ।

‘आचारसंहिता उल्लंघन अनुशासनहीन कुरा हो,’ ढुंगेलले भन्नुभयो, ‘यसको उल्लंघन कसैलाई क्षम्य हुँदैन ।’ निर्वाचनलाई स्वच्छ, मर्यादित, निश्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

निर्वाचन आचारसंहिता पालना भए/नभएको अनुगमनका लागि नगरपालिकामा निर्वाचन अधिकृत ढुंगेलको संयोजकत्वमा चार सदस्यीय स्थानीय तह आचारसंहिता अनुगमन समिति बनाइएको छ । करदाता सेवा कार्यालय खोटाङका प्रमुख कर अधिकृत भीमसेन दाहाललाई समितिको सदस्य सचिव तोकिएको छ । उहाँलाई आचारसंहिता अनुगमन अधिकृतको पनि जिम्मेवारी दिइएको छ । इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक प्रमोद कार्की र नगरपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत रविकिरण आचार्य समितिको सदस्य हुनुहुन्छ ।

निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान साढे ११ बजे राजनीतिक दलहरूलाई कार्यालय स्थापना भएको जानकारी गराउनसहित निर्वाचन केन्द्रित अन्तरक्रियाका लागि नगरपालिकाको सभाहलमा सर्वदलीय बैठक राखेको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर खोटाङका दशवटै पालिकामा बिहिबार एकसाथ निर्वाचन कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकाम रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मुख्य निर्वाचन अधिृकत र अन्य नौ पालिकामा निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको हो । यसरी स्थापित कार्यालयले उम्मेद्वारको मनोनयन दर्ता गर्ने, दाबी विरोध उपर उजुरी लिने, उम्मेद्वारको नाम फिर्ता गर्ने, मत परिणाम घोषणा गर्ने, विजयी उम्मेद्वारलाई प्रमाणपत्र वितरण गर्नेलगायतका काम गर्नेछन् ।