Thursday, April 16News That Matters

हलेसी तुवाचुङ : सर्वदलीय बैठक राखेर निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया

हलेसी तुवाचुङ नगरपालिकाको सभाहलमा आयोजित सर्वदलीय बैठक

खोटाङ, वैशाख ९ । हलेसी तुवाचुङ नगरपालिकामा सर्वदलीय बैठक राखेर आसन्न स्थानीय तहको निर्वाचनमा पालना गर्नुपर्ने आचारसंहिताबारे सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । नगरपालिकामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी र पत्रकारसमेतको उपस्थितिमा दुर्छिमस्थित नगरपालिकाको सभाहलमा सर्वदलीय बैठक बसेको हो । नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वदलीय बैठकमा राजनीतिक दलहरूलाई कार्यालय स्थापनाको जानकारी गराउँदै निर्वाचन स्वच्छ, निश्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न पालना गर्नुपर्ने आचारसंहिताबारे छलफल गरिएको हो ।

कार्यक्रममा सहायक निर्वाचन अधिकृत भीमसेन दाहालले निर्वाचनमा राजनीतिक दल, भातृ सङ्गठन, उम्मेद्वार, मतदाता, कर्मचारी, संस्थाका पदाधिकारी र सञ्चार माध्यमले पालना गर्नुपर्ने आचारसंहिताबारे जानकारी गराउनुभएको थियो । निर्वाचन अधिकृत सङ्गीता न्यौपाने ढुङ्गेलले राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र पत्रकारले आचारसंहिताबारे राखेका जिज्ञासाको जवाफ दिनुभएको थियो ।
ढुङ्गेलले निर्वाचनलाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुन आवश्यक रहेकोमा जोड दिँदै आचारसंहिता पालनामा संवेदनशील बन्न आग्रह गर्नुभयो । आचारसंहिताको पालनाले आफैँलाई विश्वसनीय बनाउने उहाँको भनाइ थियो ।

सर्वदलीय बैठकमा सहभागी सबैले आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धतापछि राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूलाई उम्मेद्वारको मनोनयन पत्र पेश गर्दा संलग्न गर्नुपर्ने कागजातबारे जानकारी गराउँदै मनोनयन दर्ता फारम वितरण गरिएको छ ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य एवम् जिल्ला उपाध्यक्ष अकिलकुमार राई, प्रदेश कमिटी सदस्य विष्णुप्रसाद दाहाल, नगर अध्यक्ष मकर राई, नेकपा एमाले खोटाङका सचिवालय सदस्य एवम् नगर कमिटी अध्यक्ष डिल्ली चाम्लिङ राई, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजुविक्रम चाम्लिङ, नेपाली कांग्रेसका नगर कार्यसमिति सचिव कमल गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष सरोज गिरी, मंगोल नेशनल अर्गनाइजेशनका जिल्ला अध्यक्ष विनेश राई, जनता समाजवादीका प्रतिनिधि अञ्जिलहाङ किराती, इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी नायव निरीक्षक नवीन कोइराला, प्रहरी चौकी दुर्छिमका प्रहरी सहायक निरीक्षक कमलनारायण यादव, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।